नेपाल-अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सवका चलचित्रहरू सार्वजनिक

काठमाडाैँ । मेरिल्याण्ड युएसएमा हुन लागेको नेपाल-अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ । नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दिपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्रहरू महोत्सवमा प्रदर्शन हुने जनाइएको छ ।

जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुनेछन् । वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र चलिचत्रहरू चाहिँ एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।

आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको, बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङ: इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ । स्थापना कालदेखि सहकार्यरत ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई चलचित्र प्रदर्शन हुने र निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन हुने समेत आयोजकले जनाएको छ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ ।

यस वर्षका निर्णायक मण्डलको नाम केही दिनमा सार्वजनिक गरिने जनाइएको छ। महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।

‘कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शनहरू भौतिक रुपमा नै आयोजना गर्न लागिएकोले उत्साहित भएका छौँ,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन् ।

महोत्सवका लागि आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *