सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्छ : सांसद घिमिरे

काठमाडौँ । नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद घिमिरेले सरकारले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले निति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमा निजि क्षेत्रको सहभागिताको विषय नआएको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई समावेश गराउनुपर्ने धारणा राखे । नेपाल आयल निगमलाई प्रतिस्पर्धि बनाउन निजि क्षेत्रको प्रवेश आवश्यक रहेको उनको भनाई छ ।

उनले भने ‘भुमीको चक्लाबन्दीलाई प्रोत्साहित गरिनेछ भन्ने असाध्यै राम्रो कुरा त राखियो । तर यसको निति चाहीँ के हो ? कुन बाटोबाट हामी चक्लाबन्दीमा जान्छौँ ? यति जग्गा खण्डिकृत भइसकेको अवस्था छ कि अहिले हामी कुन बाटोबाट चक्लाबन्दीमा प्रवेश गर्नसक्छौँ ? जबसम्म जग्गाको चक्लाबन्दी हुँदैन तबसम्म मुलुकको कृषिमा आधुनिकीकरण, औद्योगिकिकरण र व्यवसायीकरण सम्भव छैन । कृषि उत्पादनको वृद्धि सम्भव छैन । यो तथ्य सत्य हो तर चक्लाबन्दीमा जाने बाटो चाहीँ के हो ? त्यो कुरा आएन । विद्युतको व्यापारमा निजि क्षेत्रलाई सहभागि गराउने त भनियो । तर पेट्रोलियम पदार्थमा निजी क्षेत्रको सहभागिताको विषय यसमा आएन । पेट्रोलियम पदार्थमा मनपरी ढंगले मूल्यवृद्धि गर्ने र मूल्यको समायोजन नगर्ने प्रवृत्ति छ, त्यसलाई हटाउनका लागि आयल निगमलाई प्रतिष्पर्धी बनाउनको लागि पनि निजी क्षेत्रको प्रवेश आवश्यक छ । यो कुरा गर्दा केही आपत्ति हुँदैन । सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गर्न सकिदैन ? यतिपनि व्यवस्था मिलाउन सक्दैनौँ हामी ? अब सरकारले निःशुल्क उपचार कम्तिमा पनि सरकारी स्वास्थ्य संस्थामा गर्ने मिलाउने कुरा ल्याउनुपर्छ ।’

उनले सिमान्तकृत र विपन्न तहका नागरिककालागि वडा तहमा सहुलियत खाद्यान्न पसल राख्नेकुरा अस्पष्ट भएको भन्दै यस्तो कुरा नराखेको भएपनि हुने धारणा व्यक्त गरे । उनले ६० प्रतिशत लक्ष्य भेट्नेगरी बजेट निर्माण गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *