प्रक्रिया विपरीत निर्माण सुरु गरिएको सामुदायिक भवनको काम रोकियो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ को चिहान डाँडामा बन्दै गरेको सामुदायिक भवन निर्माणको काम रोकिएको छ । प्रक्रिया विपरीत वडाले भवन निर्माण कार्य सुरु गरेपछि निर्माण कार्य रोकिएको हो ।

वडाले राष्ट्रिय बनको जग्गामा भवन निर्माणको कार्य सुरु गरेको थियो । गत वैशाखबाट वडाले करिब १९ लाख बजेट रकम छुट्टाएर काम सुरु गरेकोमा हाल डिभिजन बन कार्यालय सुर्खेतमा राष्ट्रिय बनको जग्गामा भवन निर्माण कार्य सुरु भएको भन्ने निवेदन परेपछि निर्माण रोकिएको छ ।

हाल भवन निर्माणको लागि फिल्ड पनि खनिसकिएको छ । वडाको लापरबाही र गैरजिम्मेवार कामले वडाको बजेट दुरुपयोग भएको स्थानीयहरू बताउँछन् । एकजना स्थानीयले मलालुखबरलाई भने, ‘बारम्बार राष्ट्रिय बनको जग्गामा भवन नबनाउन अनुरोध गरेको भएपनि वडाले यस बारेमा चासो दिएन । अझ वडाले प्रक्रिया विपरीत उपभोक्ता समिति गठन गरेर निर्माण प्रक्रिया अगाडी बढाएको थियो । बनको जग्गा अधिक्रमण गरेर रुख समेत काटिएको छ ।’

यता वीरेन्द्रनगर १६ का वडाध्यक्ष डण्ड बहादुर विक भने सामुदायिक भवनको काम रोकिएकोमा असन्तुष्ट देखिन्छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन् । ‘वीरेन्द्रनगर १६ मा बन्न लागेको सामुदायिक भवन मुद्दा परेपछि स्थगित भएको छ । विकास रोकिनु के फाइदा हो र ?’ मकालुखबरसँग कुरा गर्दै उनले भने, ‘वडाले सामुदायिक भवन बनाउनको लागि काम अगाडी बढाएको र निर्माण कार्य सुरु भइसकेकोमा सामुदायिक भवनले राष्ट्रिय बनको जग्गा अधिक्रमण गरेको र फिल्ड खन्दा रुख समेत काटिएको भनी स्थानीयले डिभिजन बन कार्यालय सुर्खेतमा निवेदन दिएकोले बनले तत्काल निर्माण कार्य रोक्न निर्देशन दिएपछि निर्माण कार्य रोकिएको छ । डिभिजन बनले आवश्यक अनुसन्धान गरेको छ ।’

यस्तै रुख काटिएको विषयमा भने वडा अध्यक्ष अन्जान रहेको बताउँछन् । यसो त सामुदायिक भवन निर्माण कार्य अगाडी बढाउँदा राष्ट्रिय बनबाट कुनै पनि अनुमति नलिएको पनि वडाध्यक्ष बताउँछन् ।

डिभिजन बन कार्यालय सुर्खेतका डिभिजनल बन अधिकृत मुन बहादुर रावतले हाल अनधिकृत रूपमा बन क्षेत्र अधिक्रमण गरेको र रुख काटेको विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘बन क्षेत्रको अधिक्रमण गरेर सामुदायिक भवन बनाउन लागिएको भन्ने डिभिजन बन कार्यालय सुर्खेतमा खबर आएपछि यस कार्यालयबाट कर्मचारी गएर ल्याएको स्थलगत रिपोर्ट अनुसार केही व्यक्तिलाई समातेर ल्याएको र आवश्यक अनुसन्धानको लागि जिम्मेवारीमा छोडिएको छ । अहिले थप अनुसन्धान भइरहेको भने भवन निर्माण कार्य पनि रोकिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *