मिटरव्याजमा १७ लाख लिएर १ करोड ८५ लाख तिरिसक्दा पनि ५५ लाख बाँकी !

पोखरा । कास्कीका एक व्यक्तिले १७ लाख रुपैयाँ ऋण लिए । ती व्यक्तिले १ करोड ८५ हजार भुक्तानी गरिसकेका छन् । तर अझै ५५ लाख तिर्नुपर्ने सूची छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आएको उजुरीमा १७ लाख ऋणको करिव २ करोड तिरिसक्दा पनि ५५ लाख तिर्न बाँकी रहेको देखिएको हो । अदालतमा मुद्दा हाल्दा भने मिटरब्याज लगाउनेले ३४ लाख बाँकी रहेको दावी गरेको छ ।

‘तराइमा जस्तो मिटर ब्याज पीडितको संख्या ठूलो नभए पनि कास्कीमा करोडौँ रुपैयाँसम्मको कारोबार भएको देखिन्छ,’ कास्कीका सिडिओ टेकबहादुर केसीले भने, ‘१७ लाखको साढे २ करोड तिर्नुपर्ने अवस्था आएपछि के हुन्छ ?’

मिटरव्याज जस्तै सहकारीबाट पीडितको समस्या पनि उस्तै भएको केसीले सुनाए । पोखरा उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता महासंघले संयुक्त रुपमा आयोजना गरिएको व्यावसायिक सचेतना तथा अन्तरक्रियामा बोल्दै उनले पोखरामा मिटरब्याजबाट पीडितहरुको अवस्था कहालीलाग्दो भएको बताए । ‘पीडितहरु सयौँको संख्यामा छन् ।

रोएर बसेका छन्,’ उनी अघि भन्छन्, ‘मिटरब्याज र सहकारी पीडितको पीडा सुन्दा दिक्क लाग्छ ।’ सहकारीलाई हेर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिएपनि नियमन हुन नसकेको सरोकारवालाले बताएका छन् । ‘एउटै व्यक्तिको ३/४ करोड फसेको छ । सहकारीका संचालक सम्पर्कमा छैनन्, उनीहरुको गुनासो सुन्दा पनि दिक्क लाग्छ,’ केसीले भने ।

उपभोक्ताहरुको अधिकारलाई ध्यानमा राख्न प्रशासनले व्यवसायीहरुसँग आग्रह गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले व्यवसायी स्वयं पनि उपभोक्ता भएको र उपभोक्ताको अधिकारप्रति सचेत रहेको बताए । ‘कोही बदमास पनि होलान् तर हाम्रो अर्थतन्त्र आयातमा निर्भर छ । हामी अर्काको सामान ल्याएर बेच्न बाध्य छौँ,’ उनले भने, ‘अघिल्लो पटक बढी मूल्यमा सामान आउँछ । गोदाममा थन्किन्छ, अर्को पटक सस्तोमा आउँछ, अघिल्लो खरिदलाई कालोबजारी भन्न मिल्दैन ।’ उनले बैंक तथा वित्तीय संस्थाहरुले ब्याज वृद्धि गरेर कालोबजारी गरेको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *