संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैन : एमाले

नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ ।

शनिबार च्यानलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाएका हुन् ।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पनि पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका थिए । उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि बताएका थिए ।

ओलीको भनाई उधृत गर्दै प्रचार उपप्रमुख रिजालले भने, ‘हिजो देखि एउटा हल्ला चलाइएको छ–नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो । अव नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरू चलेका छन् । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नु भएको छ । र, तपाईँहरूलाई थाहा छ–हाम्रो पार्टीको बैठक निश्चित एजेण्डाका आधारमा अगाडि बढेको छ । संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । र, संघीयताको बारेमा हाम्रो पार्टीका कुनै छलफल पनि भएको छैन । कुनै साथीहरूले समूहमा उभिँदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय हो जस्तो गरी जुन ढंगले प्रचार गरिएको छ । यो गलत छ । अध्यक्ष कमरेडले यसको आलोचना गर्नु भएको छ । यो पार्टीको विधिको हिसाबले पनि गलत छ । र, पार्टीको मान्यताको हिसाबले पनि गलत छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने अगुवा पार्टी, नेता पार्टी र यसको सर्जक पार्टी नेकपा एमाले हो । यो संविधानको निर्माता नेकपा एमाले हो । यो संविधान निर्माण भएवापत मुलुकले नाकाबन्दी भोग्दासमेत त्यसको दृढतापूर्वक नेतृत्व गर्ने र सामना गर्ने पार्टी हो । यो पार्टीले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने अहिले कुनै पनि काम गर्न सक्दैन । र, त्यो काम सोच्न पनि सक्दैन । यो कुरा हाम्रो पार्टीको अध्यक्ष कमरेडले आज बहुत स्पष्ट ढंगले पार्टीको केन्दिय कमिटी बैठकमा निर्देशन गर्नु भएको छ । र, सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई पार्टीको निर्णीत कुरा, आधिकारिक कुरा, केन्द्रीय कमिटीका आधिकारिक निर्णयहरू बोकेर जान आग्रह गर्नु भएको छ ।’

बैठकले मिसन ग्रास रुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्य योजना पनि तय गरेको छ । जसमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ ।

यो पनि: एमाले बैठक : लगातार पार्टीको ३ बैठकमा अनुपस्थित भए कमिटीबाटै हटाउने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *