पूर्वगृहमन्त्री खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ ।
बुधबारबाट सुरु पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा पु-याएका खाँणलाई पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । सो प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङले समर्थन जनाएका छन् ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने खाँणबारे मुख खोलेका छैनन् । संस्थापननिकट अन्य केही नेताले भने खाँणमाथिको अनुसन्धान नसकिंदासम्म उनलाई कारबाही गर्न नहुने धारणा बैठकमा राखिरहेका छन् । बिहीबारसमेत सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले खाँणलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।
‘खाँणले आफू निर्दोष छु भनिरहनु भएको छ, उहाँले कि आफैं म प्रहरीलाई अनुसन्धानमा सघाउँछु र अनुसन्धान नटुंगिँदासम्म पार्टीको कुनै पनि जिम्मेवारीमा रहन्न भन्नुप-यो कि पार्टीले नै उनलाई निलम्बन गरेर अनुसन्धानमा सघाउँछ भन्नुप-यो, कांग्रेसले बोल्नुप-यो,’ पदाधिकारी बैठकमा महामन्त्री थापाले राखेको धारणाबारे जानकारी दिँदै कांग्रेसका एक सहमहामन्त्रीले भने ।
बैठकमा सभापति देउवाले भने कुनै ठोस जवाफ फर्काएका छैनन् । उनले पदाधिकारी तथा पूर्व पदाधिकारीले राखेका राय सुनिरहेका छन् । तर, सभापतिनिकट केही नेता भने खाँणका पक्षमा पार्टीले बोल्नुपर्ने भन्दै सभापतिलाई सुझाइरहेका छन् । खाँण कांग्रेस केन्द्रीय सदस्य हुन् ।
‘सभापतिले जवाफ दिनुभएको छैन, उहाँले सुनिरहनु भएको छ, तर सभापति निकटका केही नेता खाँणका पक्षमा उभिनुभएको छ,’ कांग्रेसका ती सहमहामन्त्री भन्छन् । देउवाले कुनै जवाफ नदिएपछि महामन्त्री थापाले बैठकमा नै देउवालाई तपाईंको धारणा के हो ? भन्दै प्रश्न गरेका थिए । ‘एमाले अध्यक्ष केपी ओलीले संसद्मा बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो ?’ थापाले सभापति देउवालाई प्रश्न गर्दै भने ।
कांग्रेस बैठकमा सहमहामन्त्री महेन्द्र यादव भने खुलेरै खाँणको पक्षमा उभिएका छन् । उनले बैठकमा महामन्त्री थापाले राखेको प्रस्तावमा प्रतिवाद नै गरेका छन् । यस्तै पूर्वउपसभापति विजयकुमार गच्छेदारले पनि बैठकमा खाँणलाई अप्ठयारो परेका बेला पार्टीले साथ दिनुपर्ने राय राखेका छन् । –राजधानी दैनिकबाट








