जनकपुरधाममा भानुभक्त आचार्यकै शालिक बनाउन मेयरलाई दबाब

जनकपुरधाम । जनकपुरधामस्थित साविकको भानु चोकमा भानुभक्त आचार्यकै शालिक निर्माण गर्न जानकी मन्दिर र हिन्दुवादी संगठनहरुले माग गरेका छन् । आज जनकपुरधामका मेयर मनोज कुमार साहलाई जानकी मन्दिरका सहायक महन्थ रोशण दास ‘वैष्णव’ र आधा दर्जन हिन्दुवादी संगठनका प्रतिनिधिहरूले ज्ञापनपत्र बुझाउँदै भानुभक्त आचार्यको शालिक अविलम्ब निर्माण गर्न माग गरेका हुन् । रामायणको धार्मिक आध्यात्मिक तथ्यलाई घर घरसम्म पुर्‍याउने आदिकवि भानुभक्त आचार्यको शालिक पुनर्निर्माण कार्यमा अवरोध गर्ने हिन्दु विरोधी रहेको मेयर साहलाई बुझाइएको ज्ञापन पत्रमा आरोप लगाइएको छ ।

शालिक पुनर्निर्माण कार्यमा अवरोध गर्ने तत्त्वहरूलाई कानुनी दायरामा ल्याउन समेत माग गरिएको छ । माता सिताको महिमालाई मौलिक भाषाको माध्यमबाट प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिनेप्रति असम्मानजनक क्रियाकलापले आहतमा परेको भन्दै जनमानसको भावनालाई बुझी यथाशीघ्र भानुभक्त आचार्यको शालिक निर्माण गर्न मेयर साहलाई ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मेयर साहले चाडै शालिक निर्माण कार्य अगाडी बढाइने प्रतिबद्धता जनाएका छन् । उनले शालिक निर्माण स्थगित भएको अफवाहको पछाडि नलाग्न हिन्दुवादी संगठनका प्रतिनिधिहरूसँग आग्रह समेत गरे । ०६३ साल अगाडी साविकको भानु चोकमा भानुभक्त आचार्यको शालिक थियो । तर मधेस आन्दोलनका बेला आन्दोलनकारीहरूले उक्त शालिक भत्काए र चोकको नाम ‘सहिद रमेश महतो चोक’ नामकरण गरेका थिए । ०७४ मा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा जनकपुरधामको मेयरमा तत्कालीन राजपाबाट लालकिशोर साह निर्वाचित भए ।

उनले ५ वर्षसम्म उक्त चोकमा न रमेश महतोको शालिक बनाए, न भानुभक्त आचार्यको शालिक पुनर्निर्माण गराए । अहिलेका मेयर साह स्वतन्त्रबाट निर्वाचित भएका हुन् । उनी काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बने र निर्वाचन पनि जिते । अहिले पुनः काँग्रेसमै फर्किसकेका उनी त्यहाँ भानुभक्त आचार्यको शालिक बनाउन लागेपछि विवाद खडा भएको छ ।

मधेस केन्द्रित दलहरूको विद्यार्थी र युवा संगठनले चोकको नाम समेत ‘सहिद रमेश महतो चोक’ नामकरण गरिरहेकाले भानुभक्त आचार्यको शालिक बनाउन नदिने उद्घोष गरेका छन् । मधेस केन्द्रित दलका विद्यार्थी र युवाहरूको अवरोधका बाबजुद मेयर साहले भानुभक्त आचार्यको शालिक बनाउने भन्दै शिलान्यास गरिसकेका छन् । तर आन्दोलन चर्काएपछि मेयर साह शालिक निर्माण गर्नबाट पछाडि हटे । अहिले भानुभक्त आचार्यकै शालिक निर्माणलाई निरन्तरता दिन दबाब बढेपछि उनी पनि दोधारमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *