नक्कली शरणार्थी प्रकरण : ८ जनालाई थप ७ दिन थुनामा राख्न अनुमति

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारण ठगी आरोपमा पक्राउ परेका ८ जनालाई थप ७ दिन थुनामा राखिने भएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार सबैलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो।
काठमाडौं प्रहरी परिसरले भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गरेको उजुरीमा छानविन गरिरहेको छ।
ठगी र संगठीतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जना हिरासतमा छन्।
पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीका छोरा सन्दिपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राई पक्राउ परेका छन्।
पूर्वउपप्रधानमन्त्री रायमाझी र थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरजसहित ११ जना फरार छन्।
चैत १२ मा दुलाल, भण्डारी र गुरुङ पक्राउ परेका थिए। सागर राई चैत १५ मा र चैत २९ मा सन्देश शर्मा पक्राउ परेका थिए।
वैशाख १९ मा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र २० गते उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ परेका थिए। त्यही साँझ पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परे।
संगठित अपराधको कसुरमा ६० दिनभित्रमा अदालतमा अभियोग अदालतमा दायर गर्नुपर्छ।








