बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरण, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ ।
आज दिउँसो नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच पनि छलफल भएको थियो ।
छलफलमा नक्कली भुटानी शरणार्थीलाई पक्राउ गर्ने सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीले भनेका थिए । सो पछि गठबन्धनको बैठक बोलाइएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही गरिने प्रधानमन्त्रीले बताइरहेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता छ ।








