प्रधानमन्त्री भन्छन्- बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न सरकार तत्पर छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न सरकार तत्पर रहेको बताएका छन् । २५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताएका हुन् ।

लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल रहेको उनको भनाई छ । ‘नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तूपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्बिनीलाई बुद्धहरूको भूमि छ । यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्राबाट ३ वटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहीँ पनि छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले बृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिशयोक्ति हुँदैन । वर्तमान सरकार बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न तत्पर छ ।’

उनले स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगीरथ प्रयत्न गर्ने बताए । ‘सम्पूर्ण मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्त्विक उत्खनन, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगीरथ प्रयत्न गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =