महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन् ।
बिहीवार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताइन् ।
कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भनेपनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको उनले बताइन् । उनले विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्ने उल्लेख गरे ।
‘विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ,’ उनले भनिन्, ‘त्यसले कुनै विषयमा कतैपनि घोचपेच गरिएको हुनु हुँदैन । हाम्रो संविधान, कानून, भएको कुरा उल्लंघन भएको हुनु हुँदैन । महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन । कुनैपनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्न खाले विज्ञापन हुन्छन् ? महिलाहरुको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन । सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ । समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्नेकुरा आफैँमा बेठिक छ । विज्ञापन कसैलाई घोचपेच गरेर आउनु हुँदैन ।’
मन्त्री शर्माले विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिइन् ।








