रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् ।
आज सोमबार गृह जिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, रवि लामिछाने जी हिजो बालुवाटार आउनु भएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता नलिने र उहाँले पार्टीमा सल्लाह गर्ने र मैले गठबन्धनमा सल्लाह गर्ने कुरा भएको छ ।’
उनले थपे, ‘रवि लामिछानेजी सरकारमा आए भ्रष्टाचारको कुन फाइल खोल्नु पर्ने हो म तयार छु । उहाँलाई अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन । छलफल गर्न बाकी छ । उहाँले पनि यही नै चाहिन्छ भन्नु भएको छैन ।’
त्यस्तै, प्रधानमन्त्री दाहालले महावीर पुनलाई सरकारले सहयोग गरेन भन्नु झुट रहेको बताएका छन् ।
पुनको मागलाई आगामी बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि उनी माइतीघरमा बसेको उनले बताए ।
सहमति भए पनि महावीर पुनले बालुवाटार बैठकबाट निस्कने समयमा आफू अनसन बस्न लागेको कुरा जानकारी गराएको प्रचण्डले बताउँदै भने, ‘हिँड्नेबेलामा म त माइतीघर मण्डलामा बस्छु है, कस्तो हुँदो रहेछ भन्नुभाथ्यो, मैले नै गएर माइतीघरमा बस् भन्न त मिल्दैन । तपाईँ बस्नुभयो भने मलाई सजिलै हुन्छ बजेट बनाउन पनि भनेको थिएँ ।’
महावीर पुनको मागलाई सरकारले सम्बोधन गरेन भन्नु झुट रहेको समेत प्रधानमन्त्रीले बताए ।








