आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु पर्छ : कार्यबहाक राष्ट्रपति यादव

काठमाडौं । कार्यबहाक राष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।
देशको आर्थिक क्षेत्रमा समेत टेवा पुर्याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उनको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै कार्यबहाक राष्ट्रपति यादवले आयुर्वेदको समय अनुकूल स्वास्थ्य नीति एवम् कार्यक्रम तर्जु गर्न र स्वास्थ्य विमामा आयुर्वेद सेवालाई समावेश गर्ने कार्यमा लाग्न पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरे ।
उनले आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको वृत्तिविकास, अवसर सृजना गर्न सम्वद्ध सबै लाग्ने विश्वास समेत व्यक्त गरे । कार्यबहाक राष्ट्रपति यादवले नेपालमा आधाभन्दा बढि आयुर्वेद औषधि आयात गर्नुपर्ने अवस्था रहनु बिडम्बनापूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि स्थानीय जडिबुटी एवम् स्रोत, साधनहरुको अधिकतम प्रयोग हुने गरी लगानी र उत्पादनमा वृद्धि गर्न जरुरी रहेको बताए ।
उनले भने ‘आयुर्वेद चिकित्सा अध्ययन र अभ्यासलाई बैज्ञानिक ढंगले अघि बढाउन हुन तपाईहरुलाई हार्दिक अनुरोध गर्दछु । जडिबुटीको खानी मुलुकमा आधाभन्दा बढि आयुर्वेद औषधि बाह्य मुलुकबाट ल्याउनुपर्ने अवस्था हुनु आफैँमा बिडम्बना हो । यसर्थ, सबै औषधि उद्योगी, व्यवसायीहरुलाई नेपालका जडिबुटी एवम् स्रोत, साधन प्रयोग गरी आयुर्वेद औषधिमा आत्मनिर्भर मात्र नभई निर्यात समेत गर्नेगरी लगानी र उत्पादन गर्नेगरी देशको आर्थिक क्षेत्रमा समेत टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु । विश्व सामूमा हर्बल मेडिसिन, योग, आयुर्वेद चिकित्सा, पञ्चकर्मजस्ता विषयहरुमा आकर्षण बढिरहेको छ । अत: नेपालमा मेडिकल टुरिजमको सम्भावना उच्च छ । आयुर्वेदको समय अनुकूल स्वास्थ्य नीति एवम् कार्यक्रम तर्जुमा, बजेट बिनियोजनमा आयुर्वेदलाई प्राथमिकतामा राख्ने, विशेषज्ञ आयुर्वेद सेवा प्रदान गर्ने, आधुनिक अस्पतालहरु प्रदेश स्तरमा स्थापना गर्न, स्वास्थ्य विमामा आयुर्वेद सेवालाई समावेश गर्न, आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको वृत्तिविकास, अवसर सृजना गर्न र शिक्षण संस्थाहरुको अध्ययन, अध्यापनलाई बैज्ञानिक तथा अनुसन्धानमूलक बनाउन सम्वद्ध सबै लाग्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’
कार्यबहाक राष्ट्रपति यादवले नेपाललाई मेडिकल टुरिजमको रुपमा विकास गर्ने सम्भावना उच्च रहेको पनि बताए । यसका लागि आयुर्वेद क्षेत्रमा लगानी र उत्पादन बढाउन सम्वद्ध सबै पक्षले जोड दिनुपर्ने उनको भनाई थियो ।








