कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्ड पथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पार्टीको तर्फबाट सञ्चारकर्मीहरूसँग बोल्दै सचिव भट्टराईले यस्तो बताए ।
उनले कोशी प्रदेश नामकरणको विरोध शान्तिपूर्ण रूपमा गर्न पाउने भए पनि नेकपा माओवादी केन्द्र का सङ्गठनहरूले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए ।
उनले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको बताए । उनले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्ड पथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने चेतावनी दिए ।
उनले भने, , ‘प्रदेशको नामकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुन्छ । त्यस अनुसार ६ प्रदेशले नाम राजधानी सबै गरे, प्रदेश १ ले पनि निर्णय लियो, त्यसमा मुख्यमन्त्री हिकमत कार्कीले सामान्य समन्वय गर्नुभयो । उहाँले नेपालका शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभयो । त्यो समन्वयको आधारमा प्रदेश सभाले निर्णय गरेको हो । उसको संवैधानिक अधिकार हो । त्यसको विरोध गर्न पाइन्छ तर सीमा हुन्छ । उहाँहरूले अपनाएको शैलीको हामी निन्दा गर्दछौँ । नेकपा एमाले केन्द्रित लक्षित जुन आक्रमण छ, त्यो आक्रमणले हामीलाई कतै सत्ता केन्द्रित दलहरू नै संलग्न छैनन् रु भन्ने शङ्का छ । प्रधानमन्त्री स्वयंले नै आगोमा घिउ थपिरहनुभएको छ । प्रधानमन्त्रीले सहमति दिनुभयो, पार्टी फिर्ता हुन्छ भन्नुभयो नामकरण पछि । आएको रिपोर्टमा माओवादीका साथीहरू संलग्न भएका छन् भन्ने छ । त्यो कुरा पुलिस,प्रशासन, प्रधानमन्त्रीलाई थाहा छ । अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्ड पथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन । हामी गोरखाली भाषामा प्रचण्ड पथलाई भन्न चाहन्छौँ, कोशी प्रदेशमा यो सम्भव छैन ।’
सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए ।








