तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा, यस्तो छ अंकगणित

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । गत पुस २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका राज कुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

पहिलो पटक माघ ६ गते एमाले, राप्रपासहितको विश्वासको मत पाएका मुख्यमन्त्री शर्माले राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रो पटक चैत १७ गते पुनः विश्वासको मत लिएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा दोस्रो पटक मुख्यमन्त्री शर्मालाई राप्रपाका १ जना सांसद बाहेक सबैले विश्वासको मत दिएका थिए ।

नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी ३ जना मन्त्रीले राजीनामा दिँदै चैत २७ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभा बैठकबाट मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत दिन लागेका हुन् ।

क-कसको पाउँदैछन् मत ?
४ महिनाको अन्तरालमा तेस्रो पटक विश्वासको मत लिन लागेका कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलो पटक नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विश्वासको मत पाएका थिए । दोस्रो पटक भने मुख्यमन्त्री शर्माले राप्रपाका १ जना सांसदबाहेक सबै दलबाट विश्वासको मत पाए ।

पहिलो पटक मुख्यमन्त्री शर्मालाई विश्वासको मत नदिएको नेपाली कांग्रेसले पनि दोस्रो पटक विश्वासको मत दिएको थियो । तेस्रो पटक मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदा नेकपा एमाले र राप्रपा बाहेक अन्यले उनलाई विश्वासको मत दिने देखिन्छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएर यसअघि नेकपा एमालेका मन्त्रीहरूले पाएको मन्त्रालय कांग्रेसका मन्त्रीहरूले पाइसकेका छन् । केन्द्रीय समीकरण अनुसार नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेछ । तेस्रो पटक मुख्यमन्त्री शर्मालाई नेकपा एमाले र राप्रपा बाहेकका सांसदले विश्वासको मत दिने देखिन्छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका १० जना सांसद छन् । नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, समाजवादीका १, राप्रपाका १ जना र स्वतन्त्र एक जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *