साधारण कुरामा पनि एन्टीबायोटिक खान्छौँ, त्यो ठूलो गल्ती हो : डा. कटवाल

काठमाडौँ । अहिले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र काठमाडौँको वायु प्रदूषणका कारण पनि घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेमा चिकित्सकहरूले आग्रह गरेका छन् । यो हरेक काठमाडौँवासीको समस्या हो । मास्क नलगाई हिँडडुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ । मास्क नलगाई घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ राजधानीवासीमा । अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा शास्वत कटवालले मौसम परिवर्तनसँगै नाक, कान र घाँटीका बिरामीहरू बढेको बताउँछन् । नेपालमा एन्टिबायोटिकको धेरै अनावश्यक प्रयोग भइरहेको भन्दै उनले चिकित्सकको सल्लाह र सुझाव लिएर मात्रै औषधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रस्तुत छ, अल्का अस्पतालका नाक, कान घाँटी रोग विशेषज्ञ डा. शास्वत कटवालसँग गरेको कुराकानीको सम्पादित अंश :-

मौसम परिवर्तनसँगै अलि बढी नाक, कान र घाँटीका बिरामीहरू बढेको देखिन्छ किन ?
हाम्रो जुन नर्मल म्युकोजा भन्ने लाइनिङ हुन्छ, नाकको त्यो वेदर चेन्ज (मौसम परिवर्तन) ले गर्दा ड्राइ (सुख्खा) हुन्छ । त्यही भएर सङ्क्रमित हुने सम्भावना बढी हुन्छ । त्यसैले जहिले पनि मौसम परिवर्तन हुँदा सङ्क्रमण हुने सम्भावना बढी हुने हो । धेरैजसो राइनो भाइरस भन्छौँ हामीले । यो चाहिँ जाडो महिनामा सङ्क्रमित हुने सम्भावना धेरै हुन्छ । रुघाखोकी लाग्ने कारण पनि त्यही नै हो । हाम्रो नर्मल म्युकोजा जुन हुन्छ नाकको त्यसले राम्रोसँग फंग्सन गर्न नपाएर, सुख्खा भएर राम्रोसँग काम गर्न नसकेर सङ्क्रमण बढिरहेको हुन्छ ।

नाक, कान र घाँटी फरक काम गर्छन् तर कसरी अन्तर सम्बन्धित छन् ? यिनीहरू कसरी जोडिन्छन् ?
रुघा लागिराख्यो भने र नाक र कान बिचको (पाइप) नशा बन्द भयो भने कानमा इन्फेक्सन देखिने, वा घाँटीमा इन्फेक्सन देखिने भयो भने त्यही नाक र कानको बिचको (पाइप) नशा जुन इन्टरकनेक्टेड छ, त्यसले गर्दा इन्फेक्सन एक अर्कामा जाने भएकाले गर्दा नाक, कान, घाँटीसँगै जोडिएर आउँछ ।

कुनै बेला पनि नाक, कान र घाँटीको समस्या आइरहेको नै हुन्छ तर हामीले त्यसको उपचार घरबाट नै खोजिरहेका हुन्छौँ यसलाई कसरी हेर्ने ?
धेरैजसो नाक, कान र घाँटीमा समस्या हुने भनेको एलर्जी र ग्यास्ट्रिकले गर्दा धेरै फरक पार्छ । हाम्रो समस्या के छ भने नाक अलि दुख्यो भने पिनास भयो, अलिकति घाँटी दुखे टन्सिल भयो भन्छौँ र एन्टीबायोटिक खाइहाल्छौँ । धेरैजसो समयमा भने इन्फेक्सन भएको हुँदैन । प्रायः हामीले एक्स्ट्रिम अफ टेम्पेचर फुडहरू नखाने हो भनेपनि धेरै फरक पर्छ । ओरलाइजिङ मेन्टेन गरेको खण्डमा पनि धेरै फरक पर्छ । हामी एकै पटक एन्टिबायोटिकमा जम्प गर्नुपर्ने हुँदैन ।

हामी सामान्य रूपमा घरबाट नै समाधान खोज्छौँ तर बिरामी धेरै भइसकेपछि मात्रै अस्पताल जान्छौँ, यसलाई कसरी सुधार्न सकिन्छ ?
हाम्रो नाक, कान र घाँटीमा समस्या हुँदा एकैपटक आत्तिएर अस्पताल जानुपर्दैन । पहिला घरायसी उपचार नै गर्ने हो । त्यसले समाधान हुँदै गयो, सहज भयो भने अस्पताल जानु पर्दैन, तर एक, दुई दिनमा त्यो समाधान भएन वा समस्या बढ्दै गयो भने अस्पताल गएको राम्रो हुन्छ ।

नाका, कान र घाँटीका समस्या हुँदा, कस्तो अवस्थामा अस्पताल जानुपर्छ ?
नाकबाट रगत आउने भनेको नाथ्री फुट्ने नै हो । हाम्रो अरू ठाउँमा काटिएको जस्तै हो । तर हामी नाथ्री फुटिसकेपछि धेरै आत्तिन्छौँ, त्यसपछि समस्या धेरै हुने हो । त्यसले हामीलाई प्रेसर बढाउँछ । रगत पनि बढी बग्छ । हामीले नआत्तिईकन बस्यो भने नाक पिन्च गरेर बस्ने हो भने रोकिन्छ । त्यसपछि हामीले खोज तलास गर्नुपर्छ, की अरू रोगले पो नाकबाट रगत आएको हो की भनेर ? ९० प्रतिशत जति केसहरूमा डिजिज प्रोसेस नभएर साधारण नाकको नाथ्री फुटेर मात्रै रगत आउने हो । हामीले घाँटी दुख्ने बित्तिकै एजिथ्रोभाइसिन ४, ५ दिनसम्म चलाइदिन्छौँ । २१ दिनसम्म चलाएको बिरामी पनि मैले भेटेको छु । आफ्नै हिसाबले । ठिक भएपनि नभएपनि उहाँले खाइरहनुभएको थियो । ठिक नभएकाले लगातार २१ दिन खानुभएको थियो । हामीले यदि सहन गर्नसक्ने क्षमता भन्दा बढी भएको छ वा फिभर आयो वा खाना खान निकै नै गाह्रो भयो भने बल्ल अस्पताल जाने हो । नत्र सामान्य उपचार घरमा नै गरेर निको हुन्छ ।

प्रदूषणको क्रम बढिरहेको छ, सामान्य नागरिकले त्यसबाट बच्नका लागि कस्ता सावधानी अपनाउने ?
हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । मास्कले नरोक्ने फोहोर पनि हुन्छन् जो हाम्रो नाक र मुखमा अड्किएर बस्छ । त्यसैले जब हामी कार्यालयबाट घर र बाहिर निस्किएपछि घर जान्छौँ, पहिला नाक सफा गर्ने पानीले, त्यसपछि कुल्ला गर्ने, त्यसपछि मात्रै हाम्रा दिनचर्या कामहरू सुरु गर्नुपर्ने हुन्छ । त्यसले पनि सङ्क्रमित हुनबाट बचिन्छ । हाम्रोमा एन्टीबायोटिक मिस्युज (गलत प्रयोग) धेरै नै छ । हामी साधारण कुरामा पनि एन्टीबायोटिक खान्छौँ । त्यो ठूलो गल्ती हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *