कांग्रेस संसदीय दलकाे बैठक : बजेटले उत्पादन वृद्धि, रोजगारी र कृषिलाई प्राथमिकता दिइने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
सोमवारबाट संघीय संसद भवनमा शुरु भएकाले पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् । बैठकपछि मंगलवार सञ्चारकर्मीहरसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताएका हुन् ।
उनले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । उनले बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिएको र पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने अधिकांश सांसदहरुले माग राखेको बताए ।
उनले महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरुले सुझाव दिएका छन् ।
बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार बिस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउन पनि प्रमुख सचेतक लेखकले बताए ।
उनले भने, ‘बजेटका सिद्धान्तहरु, प्राथमिकताहरु, त्यसका आधारहरु के हुन् ? भन्नेकुरा मान्य अर्थमन्त्रीले जानकारी गराए । बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिए । हामीले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गरेका छौँ, केही शोक प्रश्ताव पारित गरेका छौँ । अर्थमन्त्रीजीले बजेटका बारेमा जानकारी गराए । सभापतिजीले पनि आफ्ना धारणा राखे । मुल विषय बजेटमा नै छलफल गर्न यो बैठक राखिएको थियो, त्यसमा व्यापक छलफल भयो । पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतमा बढी केन्द्रित हुनुपर्छ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि कुरा उठेका छन् ।’
त्यस्तै नेपाली काँग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभुत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताए । उनले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताए ।
उनले भने ‘पार्टीको संसदीय दलको बैठकमा आगामी बजेटका बारेमा छलफल भयो । आगामी बजेट जनताप्रति र जनतालाई के के कुरामा राहत दिन सकिन्छ ? सानो पुँजीबाट पनि सानो बजेटबाट पनि जनताको आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिएर सामाजिक सुरक्षा भत्ता लगायतमा विशेष ध्यान दिएर आगामी बजेटको निर्माणमा ध्यान दिनेछौँ भन्नुभएको छ । आर्थिक अवस्था कहालीलाग्दो छ, यद्यपी आयआर्जनमा के कसरी बढाउन सकिन्छ ? रोजगार कसरी सिर्जना गर्न सकिन्छ ? मुलुकमा उत्पादन र श्रमलाई कसरी बढाउने भन्ने बारेमा विचार आएका छन् । आय आर्जन पनि बढाउने, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिने भन्ने छ ।’
सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भएपनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताए । उनले मुलुकमै रोजागारी सिर्जना गर्न, मुलुकको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुनुे ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको बताए ।








