तनहुँमा हार नजिक पुगेपछि गोबिन्द भट्टराईले भने : तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ

तनहुँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजय नजिक पुगेका छन्। पछिल्लो मत परिणाम अनुसार उनले साढे ९ हजारको मतान्तर बनाइसकेका छन्। आधा बढी मत गणना सकिएको छ।

वाग्लेले २२ हजार ८२ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्दराज भट्टराईले १२ हजार २ सय ४६ मत पाएका छन्। आफू पराजय हुने निश्चित जस्तै भएपछि सोमबार साँझ भट्टराईले सामाजिक सञ्जालमा सन्देश लेख्दै मतदातालाई धन्यवाद दिएका छन्। पदमा नरहे पनि आफू सधैं जनताको काममा लागिरहने उनले बताएका छन्।

यस्तो छ भट्टराईको सन्देशः

हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।

ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ। यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ।

मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु।

चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरेँ। साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु।

सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

उही तपाईंको
गोविन्द

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =