४ प्रतिशतको आर्थिक वृद्धिले समृद्ध मुलुक बनाउने लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताएका छन् ।
शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बताउनु भयो । उहाँले मुलुकको आर्थिक वृद्धिदर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
उनले पछिल्लो समय सरकारले सबै आयोजना बनाउने भनेर स्रोत सुनिश्चित बिना आयोजना घोषणा गर्ने गरेको बताए । उनले ५० करोड आवश्यक पर्ने आयोजनामा ५ लाख रुपैयाँ राखेर स्रोतको सुनिश्चितता भयो भनरे ठेक्का लगाएको अवस्था रहेको भन्दै अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने बताए ।
अर्थमन्त्री महतले करिब ४ खर्ब रुपैयाँ बराबरका स्रोत सुनिश्चित नभएका आयोजनाहरू ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताए । उनले साना आयोजनामा समेत केन्द्र सरकारले हात हालेको भन्दै अब साना आयोजनाको काम स्थानीय सरकारलाई दिने बताए ।
उनले आगामी बजेटमा स्रोत सुनिश्चित भएका आयोजनाहरूलाई पहिलो प्राथमिकता हुने बताए । उनले भने, ‘मुलुकको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा हुँदैन । सरकारको आर्थिक मौद्रिक नीतिको लक्ष्य समान रुपमा आर्थिक वृद्धि बढाउने हो । हामीले माग आएजति योजना राख्ने, क्षमता नहेरी प्रतिवद्धता जनाउने र योजना अलपत्र पार्ने अवस्था अन्त्य गर्नु अनिवार्य भएको छ । यहाँ पनि दिन्छु, त्यहाँ पनि दिन्छु भनेर ५० करोडको आयोजनामा पाँच लाख राखेर स्रोतको सुनिश्चितता भयो भन्दिने कुराले हामी फसेका रहेछौँ । साना भन्दा साना आयोजनामा केन्द्रले हात हाल्ने कुरा गलत अभ्यास भयो । आयोजना राख्ने र काम गर्न नसक्ने कुराले हामीलाई थप अलोकप्रिय बनाउँछ । त्यसैले स्रोतले भ्याउने सुनिश्चितता गर्ने पद्धति बसाल्ने प्रयासमा छु । आगामी आर्थिक वर्षदेखि त्यो अभ्यास हुनेछ ।’








