संक्रमणकालीन न्यायको कामलाई पूरा गछौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताए

शनिबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरू भईरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

एक दशक भन्दा बढि समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उनको भनाई थियो । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौँ, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सक्छौँ । यो शान्ति प्रक्रियाको बाँकी काम अहिले हामीले हर हालतमा पूरा गर्नु छ । धेरै दशकभन्दा बढी बित्यो । डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौँ । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौँ । र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रूपमा विभिन्न प्रयत्नहरू भइराखेका छन् । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए । मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको दोहो¥आउँदै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले जनताको अपेक्षालाई पूरा गर्न र यो परिवर्तनको औचित्यलाई पुष्टि गर्न पनि सरकारले आर्थिक समृद्धिको यात्रालाई तीव्रता गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेको दावी समेत गरे ।

उनले भने, ‘जनताको अपेक्षा पूरा गर्न, हाम्रो प्रतिबद्धता पूरा गर्न र यो परिवर्तनको औचित्य पुष्टि गर्नका लागि हामीले समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नु पर्छ । र, फड्को मार्ने दिशामा पु¥याउनु पर्दछ भन्ने हाम्रो अर्को कार्यभार हो । जसलाई हामीले तात्कालिक केन्द्रीय कार्यभार भनेका छौँ । यस क्रममा अहिले अर्थतन्त्रको क्षेत्रमा केही समस्याहरू देखा परेका छन् । तत्कालीन रूपमा केही अप्ठ्याराहरू देखा परेका छन् । तर, अर्थतन्त्र गम्भीर संकटको चक्र व्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन । केही समस्याहरू छन् । त्यो समस्याहरूलाई हामीले गम्भीरतापूर्वक विश्लेषण गरिराखेका छौँ । त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौँ । र, फेरी हामी अर्थतन्त्रलाई चलायमान बनाएर, गतिशील बनाएर हामी समृद्धिको यात्रालाई तीव्र बनाउने प्रक्रियामा जानु छ । यो हाम्रो तात्कालिक केन्द्रीय कार्यभार हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै सोही अनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =