यस्ता छन् ५ वैशाखकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । मन्त्रिपरिषद्काे बैठकले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ५ बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, सरकारले दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायव महान्यायाधीवक्तालाई स्वीकृति दिने, अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
बैठकका निर्णय सुनाउँदै शर्माले सरकारले लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने, सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने, नेपाल—भारत पेट्रोलियम तथा ग्यास सम्बन्धी संयुक्त कार्य समूह, सहसचिवस्तरको चौथो बैठक १२ वैशाखमा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको बताइन् ।
उनले जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गाविस वडा नम्बर २ स्थित ०—२—२—० र ५—६—३—१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्मार्णाथ उपयोग गर्न स्वीकृति दिने निर्णय गरेका छन् । स्याङ्जा जिल्ला साविक पुतलीबजार गाविस वडा नम्बर ९ स्थित ४—१—१—३ र ११—१—२—२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने र भूउपयोग पहिलो संशोधन नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय भएको बताइन् ।
त्यस्तै, भूउपयोग पहिलो संशोधन नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको हो ।
नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुई जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको उनले बताइन् ।
काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने पनि निर्णय भएको छ । काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने निर्णय भएको उनले बताइन्।








