१३ एसएसपी डीआईजीमा बढुवा, छिनभरमै निर्णय हुँदा अवकासबाट जोगिए खनाल

नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार डीआईजी बढुवाको निर्णय गरेका हुन्।
मंगलबार बढुवा सिफारिसविरुद्ध २ एसएसपीले उजुरी गरे पनि भोलिपल्टै बढुवाको निर्णय भएको हो। लोक सेवा आयोगले तत्काल निर्णय दिँदा यसको फाइदा एसएसपी विकासराज खनाललाई भएको छ।
यदि आजै निर्णय नभएको भए उनी एसएसपीबाटै अवकास हुने थिए।
एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनी बुधबार राति १२ बजेबाट अवकासमा जाने थिए। बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए।
डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई रहेका छन्।
यस्तै लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि डीआईजीमा बढुवा भएका हुन्।








