‘जारी’ले पैतृक सम्पत्ति उपभोग गर्न नपाउन्जेल महिला स्वतन्त्रताको अर्थ नरहने देखाएको छ : निर्देशक सुब्बा

काठमाडौँ । नेपाली चलचित्र जारी प्रदर्शनमा आएको हप्ता दिन बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जारीका निर्देशक, कलाकारले जारी प्रदर्शनमा आएपछि दर्शकले दिएका प्रतिक्रिया सुनाएका हुन् । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र प्रदर्शनपछि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।

उनले लिम्बू संस्कृतिसँग सम्बन्धित चलचित्र भएकाले काम गर्न केही कठिनाइ भए पनि आफू लिम्बू संस्कृतिसँग धेरै नजिक हुँदा सहज लागेको बताए । उनले सांस्कृतिक हिसाबले पनि आफूलाई अभिनय गर्न सहज भएको बताए ।

उनले भने, ‘धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ । मलाई काम गर्न केही कल्चरको हिसाबले उस्तै उस्तै भएर धेरै नै सहज भयो, अभिनय निभाउनलाई । कल्चर मिल्दोजुल्दो थियो, हरदम पनि मिल्दोजुल्दो थियो । स्क्रिप्ट छर्लङ्ग थियो, त्यो मेरो लागि चुनौती थियो । रिस, प्रेम, इगो सबै थियो । सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।’

अभिनेत्री मिरुना मगरले अन्य चलचित्रमा अभिनय मात्रै हुने भए पनि जारीमा भने पात्रअनुसार भिजेर अभिनय गर्न पाएको बताइन् । उनले आफूले चलचित्रमा अभिनय गर्दा पात्रको विषयवस्तुलाई महसुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाइरहेको बताइन् ।

उनले भनिन्, ‘मैले काम गरेका चरित्रहरूमा जारी भन्दा भिन्न थियो । जारीको स्क्रिप्ट पढ्दा नै मैले धेरै नै भिन्न पाएको थिएँ । मलाई स्क्रिप्ट पढ्ने बित्तिकै काम गरेको जस्तो फिल हुन्छ होला भन्ने लागेको थियो । मैले यो चरित्रमा वास्तविक अभिनय गर्ने प्रयास गरेको छु । चलचित्रमा मैले पात्रको अभिनयलाई महसुस गरेर काम गरेँ र धेरै कुरा सिक्न पाएँ ।’

त्यस्तै, अभिनेता विजय बरालले लिम्बू समुदायको कथावस्तुलाई चलचित्रमा उतारिएको त्यही अनुसारको पात्र बन्दा केही कठिनाइ भएको बताए । उनले लिम्बू भाषा बोल्नै नजान्नेलाई सबैभन्दा बढी लिम्बू भाषा प्रयोग गर्नुपर्ने पात्र बनाउँदा केही कठिनाइ भएको तर सिक्दै जाँदा सहजै अभिनय गर्न सकेको बताए ।

उनले भने, ‘लिम्बू कल्चरको थियो, त्यसलाई चरित्रमा उतार्न गाह्रो थियो, आवाजमा गाह्रो थियो, मेरो चरित्रमा फेरि सबै लिम्बू भाषाको प्रयोग गर्नुपर्ने धेरै थियो ।’

निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रूपमा जीवन जिउने महिलाहरू लिम्बू समुदायमै रहे पनि उनीहरुको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताए । उनले महिलाहरूले पैतृक सम्पतीको उपभोग गर्न नपाउन्जेलसमम अन्य स्वतन्त्रताको अर्थ रहँदैन भन्ने यथार्थलाई चलचित्रमा देखाउन खोजेको बताए ।

उनले भने, ‘नेपाली समाजमा खुला समाज भनेको लिम्बूहरूको हो । बढी स्वतन्त्रता लिम्बूहरूले नै उपभोग गरिरहेका छन् भन्ने गरिन्छ । यहाँभित्र महिलाहरूको हक बढी हुन्छ भन्ने कथन छ । यो एक किसिमले स्वीकार्य हो, मलाई यत्तिले मात्रै पुग्दैन भनेर लागेको हो । कहाँ हो छारी कहाँ गइस् भनेर मात्रै स्वतन्त्रता होइन, अरू पनि धेरै कुरा छन् भन्ने लाग्यो । जबसम्म छोरीमा पैतृक सम्पतीको हक लाग्दैन तबसम्म अरू स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै जारी बनाउने सोच निकालेँ । बनाउँदा बनाउँदै के के बनाएँ नै थाहा छैन । हरेक समाजका महिला सबल र सक्षम रहुन् भन्ने चाहन्छु ।’

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा समेटिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गरेका छन् । जारी नयाँ वर्षको दिन देशभर प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =