भूमिहीनलाई मेरै पालामा लालपुर्जा वितरण गर्छु : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहीनलाई लालपुर्जा दिने लक्ष्य आफूले दिएको बताइन् ।
मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरूलाई पनि लालपुर्जा प्रदान गर्ने आश्वासन दिइन् ।
उनले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरू सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गरिन् ।
मन्त्री श्रेष्ठले भनिन् ‘मेरो पालामा भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरू छन् । काठमाडौँ, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलवासी लाखौँ नेवारहरू लालपुर्जा विहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरूले लालपुर्जा पाउनै पर्दछ । काठमाडौँको नेवारलाई किन भूमिहीन देखेन राज्यले रु प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरूलाई सो भूमिको लालपुर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ । सहकारीबाट जनता ठगीको सुनायो छ । कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरू सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु । ’
मन्त्री श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।








