गण्डकीको बेरुजु २ अर्व नाघ्यो

पोखरा । गण्डकी प्रदेशको बेरुजु २ अर्व नाघेको छ। अघिल्लो वर्षसम्म १ अर्व ७८ करोड बेरुजु रहेकोमा १३ करोड फस्र्यौट भएको थियो।
यो वर्ष थप ४८ करोड बेरुजु देखिएको हो । योसँगै गण्डकीमा अव २ अर्व १४ करोड बेरुजु कायम भएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ सय ७३ वटा सरकारी कार्यालय र १४ वटा समिति तथा अन्य संस्थाको लेखा परीक्षण गरेको थियो।
जम्मा सरकारी कार्यालयको ३७ अर्व ४ करोड सरकारी कार्यालयको र २ अर्व ८६ करोड समिति तथा अन्य संस्थाहरुको लेखा परीक्षण गरिएको मलेपले जनाएको छ। पूरा बेरुजुमध्ये ७ करोड ८ लाख असुल गर्नुपर्ने खालको छ भने बाँकी अनियमित भएको बेरुजु छ ।
गण्डकीमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरुजु देखिएको छ । बजेट समेत सोही मन्त्रालयमा बढी थियो।
२५ करोड ५४ लाख बेरुजु छ भने उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको ६ करोड ६२ लाख, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको ४ करोड ७९ लाख बेरुजु रहेको मलेपको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयको ३ करोड ३२ लाख, मुख्यमन्त्री कार्यालयको १ करोड ८९ लाख र अन्य कार्यालयहरुको ३ करोड ४७ लाख बेरुजु अध्यावधिक भएको छ।
यसैबीच, मलेपको प्रतिवेदन सोमबार उपमहालेखा परीक्षक राममाया कुवँरले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएकी छिन्।








