ओली भेट्न बालकोट जाँदै प्रचण्ड-देउवा

काठमाडौँ । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा छलफल हुँदैछ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुने भएको हो । एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको छलफल आज बिहान ९ बजेपछि हुनेछ । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ ।

यसअघि चैत २५ र २८ गते पनि शीर्ष नेताहरूबीच छलफल भएको थियो । सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल विशेषतः सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने विषयमा केन्द्रित थियो । संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *