प्रधानमन्त्रीको भारत भ्रमण तयारीको काम सुरु गर्छु : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाई हाल्ने बताएका छन् ।

आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरे लगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताए । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए ।

उनले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ठ बनाउँदै लैजाने पनि बताए ।

उनले भने, ‘नेपाल शान्तिपूर्ण मुलुक हो । हामी संसारका सबै देशहरूसँग हाम्रो लामो समयदेखि इतिहासदेखि नै अत्यन्त सौहार्दपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रही आएको छ । हामीले आगामी दिनमा पनि विश्वभरिका देशहरूसँग, छिमेकीहरूसँग हामीले आफ्नो सम्बन्धलाई घनिष्ठ बनाउँदै लैजाने छौँ । र, यसरी हामी नेपाल एउटा शान्तिप्रिय देशको रूपमा, एउटा लोकतान्त्रिक देशको रूपमा विश्वभरी चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु । यसमा हामी छलफल अगाडि बढाउँछौं । भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यूलगायतका टिमहरू त्यसमा संलग्न हुनुहुन्छ । म सबै कुराको बारेमा ब्रिफिङ लिएर अनि त्यसको बारेमा भन्नेछु ।’

त्यस अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्च पदस्थ कर्मचारीहरूले मन्त्री साउदको स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *