एनपी साउद बने परराष्ट्रमन्त्री, आठौँ पटक मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले आइतबार सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।

साउदले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले पदबहालीसमेत गरेका छन् ।

१० वैशाखको उपनिर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने समहमति भए पनि प्रधानमन्त्रीको आसन्न भारत भ्रणका लागि तयारी गर्न सहज होस् भनेर परराष्ट्रमन्त्री भने आजै नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आठौँ पदक मन्त्रिपरिषद् विस्तार गरिए पनि अझै ४ मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसक्दा प्रधानमन्त्रीले सम्हालिरहेका छन् ।

साउद तेस्रो पटक मन्त्री बनेका हुन् । साउद यसअघि शिक्षा राज्यमन्त्री र सिंचाइमन्त्री बनेका थिए।

२०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ सचिव भएर राजनीति सुरु गरेका साउद २०४१ सालमा नेविसंघङ्को केन्द्रीय सदस्य नियुक्त भएका थिए । २०४८ मा नेविसंघको केन्द्रीय अध्यक्ष समेत बनेका थिए ।

२०५९ सालमा शेरबहादुर देउवा नेतृत्वमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनेपछि साउद पनि देउवासँग लागेका थिए ।

२०६४ सालको निर्वाचनमा पराजित साउद २०७० को निर्वाचनमा भने निर्वाचित बने र सिंचाइमन्त्री बने। २०७४ मा निर्वाचन हारेका उनी २०७९ को मंसिरमा सम्पन्न निर्वाचनमा भने उनी निर्वाचित बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *