प्रचण्ड र देउवा बालकोट नगएपछि प्रमुख तीन दलको बैठक बस्न सकेन

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकलगायत संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकबारे सहमति जुटाउन बस्ने भनिएको तीन दलका शीर्ष नेताको बैठक स्थगित भएको छ । खास गरी प्रधानमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार प्रमुद दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

उक्त बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बस्ने तय भएको थियो । तर, दुई शीर्ष नेता नै बालकोट नगएका कारण बैठक स्थगित भएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आज ९ बजे प्रमुख प्रतिपक्षी दलको नेता, एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री, सभामुख र काङ्ग्रेस सभापति सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो ।

‘बैठकका लागि सभामुखसहित हामी सबै समयमै बालकोट पुगिसके पछि ९.२० बजेतिर प्रधानमन्त्रीले नै आज बैठक बस्न नसक्ने भन्नु भयो,’ बर्तौलाले भने, ‘उहाँ र काङ्ग्रेस सभापति बैठकमा उपस्थित हुनु भएन ।’

संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरू बीच छलफल गरी अघि बढ्नुपर्ने अवश्थामा आफैँले बोलाएको बैठकमा प्रधानमन्त्री आफैँ नजानु गैरजिम्मेवार देखिएको उनले बताए ।

‘आफैंले बैठक बोलाएर आफैं बैठक प्रति उदासीन हुनु र छलफल संवादलाई प्राथमिकता नदिनु दुःखद् विषय हो,’ उनले भने, ‘उहाँहरु देशका सामु उभिएका ज्वलन्त मुद्दाहरूलाई निष्कर्षमा पुर्याउन सकारात्मक हुनुहुन्न र प्रचार एउटा गर्ने अनि काम चाहिँ अर्कै गर्दैछन् भन्ने कुरा यसले पनि प्रष्ट गराउँछ । आजको यो बैठक प्रधानमन्त्री स्वयंले नै बोलाउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *