वर्ष २०७९ : देशभर ३ हजारभन्दा बढी आगलागी, १०९ जनाको मृत्यु, साढे २ अर्बको क्षति

काठमाडौँ । बर्सेनी आगलागीका कारण धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । वि.सं २०७९ का कुनै पनि महिना आगलागीका घटनाबाट अछुतो रहेनन् । वैशाखदेखि सुरु भएका आगलागीका घटना हुन अन्तिम महिनाकाे चैत ३० गतेसम्म पनि रोकिएनन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ३ हजार १० आगलागीका घटना भए भने १ सय ९ जना मानिसको मृत्यु भयो । आगलागीले ३ सय ९४ जना मानिस घाइते भए । २ अर्ब ५१ करोड २२ लाख ४० हजार १ सय ७५ रुपैयाँ बराबरको क्षति भयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार वैशाखदेखि चैत महिनासम्म भएको आगलागीका घटना, मृत्यु संख्या, घाइते र अनुमानित क्षति विवरण तल उल्लेख गरिएको छ ।

वैशाख

आगलागीको सबैभन्दा उच्च जोखिम भएको महिना हो । यो महिनामा देशभर विभिन्न स्थान गरी २ सय ८९ वटा आगलागीका घटनाहरू भए । यी घटनामा ७ जनाको मृत्यु भयो भने २८ जना घाइते भए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाबाट २८ करोड ८३ लाख ८९ हजार ८ सय ६० रुपैयाँ क्षति भयो ।

जेठ
वैशाखको तुलनामा जेठ महिनामा आगलागीका घटनामा कमी आएको देखिन्छ । यस महिनामा १ सय १ आगलागीका घटना भएसँगै उक्त आगलागीकामा परेर १८ जना घाइते भए । आगलागीमा ७ जनाले ज्यान गुमाए भने वैशाख र जेठमा जम्मा ३६ करोड ७ लाख ४४ हजार ८ सय ६० रुपैयाँ बराबरको रकम क्षति भएको देखिन्छन् ।

असार
जेठ महिनामा आगलागीको सङ्ख्या कम भए पनि असार महिनामा आएर फेरी बढेको देखिन्छ । यस महिनामा १८० आगलागीका घटना भएका थिए । ती घटनामा २ जनाको मृत्यु भयो । ३३ जना घाइते भए । अघिल्ला महिनासहित ५७ करोड ७३ लाख ६२ हजार २ सय ६० रुपैयाँ बराबरको क्षति भएको देखिन्छ ।

साउन
वि.सं २०७९ सालमा सबैभन्दा कम आगलागी भएका महिना साउन महिना हो । यस महिनामा जम्मा ३० ओटा आगलागीका घटना भए । आगलागीमा परेर २ जनाको मृत्यु भयो भने ११ जना घाइते भएका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन महिनासम्मको क्षति ७० करोड ९९ लाख ८५ हजार ९ सय ६० रुपैयाँ रहेको छ ।

भदौ
देशका विभिन्न स्थान गरी भदौ महिनामा २ सय ८० ओटा आगलागीका घटना भए । यी ७ जनाको मृत्यु भयो । ३४ जना घाइते भएका छन् । भदौसम्मको अनुमानित क्षति ८० करोड ८७ लाख ७७ हजार ६ सय ६० रहेको छ । भदौ महिनामा आगलागीका घटना फेरि उकालो लागेको देखिन्छ ।

असोज
भदौ महिनामा बढेको आगलागी असोज महिनामा केही कम भएको थियो । यो महिनामा १ सय २३ वटा आगलागीका घटना भए । सो घटनामा ७ जनाको मृत्यु भयो भने २१ जना घाइते भएका छन् । जम्मा यो महिनासम्मको आर्थिक क्षति को अनुमानित रकम ९५ करोड ३१ लाख ६७ हजार ५ सय ६० रुपैयाँ बराबर रहेको छ ।

कात्तिक
गत वर्षको कात्तिक महिनामा पनि आगलागीको घटनामा कमी भए । यस महिनामा पनि उत्तिकै आगलागी भए । कात्तिक महिनामा जम्मा २ सय ५७ ओटा आगलागीका घटना भएको देखिन्छ । यस घटनामा ७ जनाको मृत्यु र २६ जना घाइते भएका छन् । अघिल्ला महिनासहित गरेर जम्मा १ अर्ब १६ करोड ८१ लख ३९ हजार २ सय ८० रुपैयाँको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मंसिर
सयौँ संख्यामा हुँदै आएको आगलागी मंसिर महिनामा पनि सयौँको सङ्ख्या नाघ्यो । यस महिनामा २ सय ६१ वटा आगलागी भएका थिए । जसमा १२ जनाको मृत्यु भयो । उक्त आगलागीमा २६ जना घाइते भएका छन् । त्यसैगरि मंसिरसम्ममा १ अर्ब ३३ करोड ४६ लाख १७ हजार ३ सय ३० रुपैयाँ बराबरको क्षति भएको छ ।

पुस
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पुस महिनामा आगलागी झनै बढ्दै गएको देखिन्छ । गत महिनाको संख्याले यस महिनामा पनि उत्तिकै स्थान पाएको छ । यस महिनामा मात्रै देशभर ३ सय ५८ ओटा आगलागी भएका थिए । यस आगलागीमा परेर २४ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका थिए । सम्पूर्ण आगलागीमा अनुमानित क्षति रकम १ अर्ब ८७ करोड ९२ लाख १९ हजार ६ सय ४० रहेको थियो ।

माघ
माघ महिनामा पनि आगलागीको सङ्ख्या घट्न सकेको छैन । यस महिना मात्रै ३ सय १३ ओटा आगलागी भएका थिए । माघ महिनामा आगलागीमा परेर ७ जनाको मृत्यु र ३७ जना घाइते भएका थिए । अहिलेसम्मकै जम्मा आगलागी अनुमानित क्षति रकम २ अर्ब ३ करोड ५० लाख ३७ हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।

फागुन
फागुन महिनामा आइपुग्दा आगलागी बढ्दो क्रममा रहेको देखिएको छ । फागुन एक गतेदेखि ३० गतेसम्ममा ३ सय ९५ वटा आगलागी भएका थिए । उक्त आगलागीमा परेर २३ जनाको मृत्यु भयो । जसमा ५३ जना घाइते भएसँगै जम्मा २ अर्ब २७ करोड २७ लाख ३ हजार २ सय ७५ रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

चैत
गत वर्ष चैत महिनामा सबैभन्दा बढी आगलागीका घटना भएका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा चैत १ गतेदेखि ३० गतेसम्म ४७३ ओटा आगलागी भएको उल्लेख छ । उक्त आगलागीमा परेर ९ जनाको मृत्यु र ७० जना घाइते भएका थिए । जम्मा आगलागीको अनुमानित क्षति २ अर्ब ५१ करोड २२ लाख ४० हजार १ सय ७५ रुपैयाँ रहेको छ ।

गत वर्षभरि नै सञ्चारमाध्यममा आगलागीका घटनाले स्थान पाए । तर गत चैत महिनामा सबैभन्दा बढी आगलागीका घटना भए । त्यही महिना सबैभन्दा बढी धनजनको क्षति भएको देखिन्छ । विगतमा बाढी पहिरोलाई ठुलो प्रकोपको रूपमा लिइन्थ्यो भने अहिले आगलागी महाप्रकोप बनिरहेको छ । आगामी वर्षहरु आगलागीलाई रोक्न सरकारले अझ धेरै जनचेतनाका कार्यक्रम र योजनाहरू ल्याउनुपर्ने देखिन्छ । सामान्य विषयमा पनि ध्यान नपुर्याउँदा धेरैले जनधनको क्षति भोगिरहनु परेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *