नेकपा एसले ९ वैशाखमा स्थापना दिवस मनाउने

पार्टी त्यागेका नेता मुकुन्द न्याैपानेकाे नाम पार्टी अभिलेखबाट हटाइने

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख  ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी  सचिवालय बैठकले सो निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख नौं गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रुपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रुपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । प्रवक्ता खतिवडाले भने, ‘बैठकले आगामी बैशाख नौं गते अर्थात् अप्रिल २२ को दिन देशव्यापी रुपमा पार्टी स्थापना दिवस २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना हुँदा २२ अप्रिलको दिन भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना दिवस बनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौँमा एउटा केन्द्रीय कार्यक्रम हुँदैछ । प्रत्येक प्रदेश र जिल्लाहरूमा आ–आफ्नो अनुकूलता अनुसार उनीहरूले आफ्नो कार्यक्रम गर्नेछन् । देशव्यापी रुपमा यो कार्यक्रम गर्नका निम्ति पार्टीले निर्देशित गरेको छ ।’

बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उनको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताए । उनले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रीय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको पनि स्पष्ट पारे ।

प्रवक्ता खतिवडाले भने, ‘मुकुन्द न्यौपाने हाम्रो पार्टी छोडेर जानु भएको छ । उहाँको नाम हाम्रो पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेका छौँ । उहाँले पार्टीमाथि लगाएको आरोप खण्डन गर्न पनि लायक छैन । त्यस कारण हामी त्यो आरोपतिर जान चाहँदैनौँ । उहाँले पार्टी बैठकमा प्रस्तुत गरेको विषयमा पार्टीमा एक जनाले पनि साथ दिनु भएको थिएन । उहाँको प्रस्ताव विल्कुल गलत थियो । पार्टीको नीति र भावनाको विरुद्धमा थियो । त्यस कारण त्यो प्रस्ताव छलफल गर्न लायक थिएन । छलफल भएन ।’

सो पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरू नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमाले प्रवेश गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =