शेखरले भने-‘२०७९ नेपालको लोकतन्त्रले नयाँ उचाइ प्राप्त गरेको वर्ष’

काठमाडौँ । नव बर्ष २०८० को अवसरमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा संसद डा.शेखर कोइरालाले शुभकामना दिदै २०७९ ले नयाँ युग सुरु गर्ने कामना गरेका छन् ।

चैत ३० गते एक विज्ञप्ति जारी गर्दै २०७९ नेपालको संविधान अनुरूप झण्डै ३६ हजार जनप्रतिनिधिहरू शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेको बताउँदै यि जनप्रतिनिधिहरुबाट देश र जनताको हितमा काम हुनेछ भन्ने अपेक्षा हुनु स्वाभाविक भएको बताएका छन् ।

राष्ट्र निर्माणको यस्तो जिम्मेवारी वहन गर्ने क्रममा देशको विविधता अनुरूपको प्रतिनिधित्व मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रले गाउँ देखि शहर हुँदै केन्द्र सम्म जरा गाड्न पुगेको छ, अर्थात नेपालको लोकतन्त्रले नयाँ उचाई प्राप्त गरेको समेत बताएका छन् ।

उनको सन्दे्शमा भनिएको छ, ‘नेपालीहरू मात्रले उत्साह र उमंगपूर्वक मनाउने नयाँ सम्वत २०८० लाई हामी भोलिबाट स्वागत गर्न गइरहेका छौँ । वि.स.अनुसार सातको दशक र वर्ष ०७९को समीक्षा गर्दै नयाँ वर्ष र नयाँ दशकलाई स्वागत गर्ने यस पावन घडीमा नेपालको नयाँ युग सुरु होस भन्ने कामनासहित समस्त देश भित्र र बाहिरका नेपालीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु ।

२०७९ लाई स्मरण गर्दा यो चुनावी वर्ष रह्यो भनी सम्झनुपर्ने हुन्छ । नेपालको संविधान अनुरूप झण्डै ३६ हजार जनप्रतिनिधिहरू शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन । यि जनप्रतिनिधिहरुबाट देश र जनताको हितमा काम हुनेछ भन्ने अपेक्षा हुनु स्वाभाविकै हो । राष्ट्र निर्माणको यस्तो जिम्मेवारी वहन गर्ने क्रममा देशको विविधता अनुरूपको प्रतिनिधित्व मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रले गाउँ देखि शहर हुँदै केन्द्र सम्म जरा गाड्न पुगेको छ, अर्थात नेपालको लोकतन्त्रले नयाँ उचाई प्राप्त गरेको छ ।

बितेको दशक विविध उतारचढावले भरिएको मात्र रहेन, आशा र निराशाका क्षणहरू पनि आए । देशमा भुकम्पले धेरै ठूलो धनजनको क्षति भयो । कोरोनाको महामारीले आर्थिक विकास र सामाजिक सम्बन्धहरुमा निराशा छायो ।

अनेकन उतारचढावको बाबजुद पनि नेपालले अन्धकारबाट प्रकाशतर्फको यात्रा यही दशकको अन्त्यतिर तय गर्यो । देशमा घण्टौंको लोडसेडिङ न्यून भयो, उर्जा उत्पादनमा निजी क्षेत्र र सरकारी तहको प्रयासको कारण वृद्धि भएर नेपाल अब उर्जा निर्यात तर्फको यात्रामा अगाडि बढ्ने शुभ संकेतहरु देखिए । राष्ट्रिय जनगणनाले भौतिक र सामाजिक पूर्वाधारमा नेपालले दक्षिण एसियामा राम्रो स्थान प्राप्त गर्न सफल भएको सन्देश दिएको छ । नेपाल अझै केही दशक सम्म युवाहरूको देश रहनेछ र यो जनसांख्यिक लाभले देशको आर्थिक समृद्धिमा ठूलो भूमिका खेल्ने सन्देश प्रवाह गरेको छ ।

हाम्रा सामु चुनौतीहरु पनि चानचुने छैनन् । बढ्दो बेरोजगारीलाई सम्वोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउन अब ढिलो गर्ने छुट हामीलाई छैन । भ्रष्टाचार, कुशासन र महंगी अनियन्त्रित भएको छ । राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वास माथि प्रश्न उठिरहेको तीतो यथार्थ अब हामी कसैबाट लुकेको छैन । अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिक मैत्री हुन ढिलो भए सात दशक लगाएर जारी गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन सकिन्न ।

नयाँ वर्षको यस उल्लासमय समयमा देशमा विद्यमान चुनौतीलाई सम्वोधन गर्न सबै राजनीतिक दल र तिनका नेतामा विवेकको प्रयोग गर्दै साझा संकल्प गर्ने अठोट कायम होस । यसरी गरिने साझा संकल्पबाट नेपालको शान्ति, स्थिरता र समृद्धिको यात्रा अगाडि बढोस । सबै नेपालीहरूको जीवनमा खुसियाली ल्याउँन हामी सबैको इच्छाशक्ति र देश निर्माण एकमात्र ध्येय होस भन्ने कामना गर्दै फेरी एकपटक नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =