ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछ : राज्यमन्त्री ठकुरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताएकी छन् ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन् । उनले कलाकारहरू चलचित्रमा अभिनय गर्ने, गीत गाउने र नाच्न सक्ने बेलासम्मका लागि वाहवाही पाएपनि ज्येष्ठ नागरिक भएको बेलामा उनीहरूलाई कसैले नहेर्ने देखिएको अवस्थालाई मध्यनजर गरी सरकारले ज्येष्ठ कलाकारहरूको सम्मानका लागि रणनीतिक योजना बनाएर अघि बढ्ने बताइन् ।
उनले कलाकारहरूले देशको नाम विश्वमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको र तिनै राष्ट्रिय कलाकारहरूलाई भविष्यको ग्यारेन्टी नहुने दुःखद अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले कला क्षेत्रको संवर्द्धन गर्ने कुरामा राज्य गम्भीर रहेको बताउनु भयो । उहाँले आगामी दिनमा नेपाललाई फिल्म हब बनाउनतर्फ लाग्नुपर्ने पनि बताइन् ।
उनले भनिन, ‘कलाकार र कलकारितालाई नेपाली जनताले जसरी माया गर्नुहुन्छ, यसलाई आगामी दिनमा एउटा खालको विशेष रणनीति बनाएर जानुपर्छ । गीत गाउने, नाच्ने र अभिनय गर्ने बेलासम्म जीवनस्तर राम्रो चल्छ तर भोलिको हकमा केही हुँदैन । हामीलाई चाहिएको भोलिको ग्यारेन्टी हो । ज्येष्ठ नागरिक भएपछि के हो त रु राष्ट्रलाई चिनाउने कलाकारहरू ज्येष्ठ नागरिक भएपछि कसैले पनि हातेमालो गरेको देखिँदैन, यो गम्भीर चिन्ताको विषय हो । राज्यले पनि यसलाई गम्भीर बनेर लिनुपर्छ । यसका लागि एउटा रणनीति बनाएर जानुपर्छ । कलाका क्षेत्रको संवर्द्धन, जगेर्ना गर्नेकुरामा हामी छौँ । आगामी दिनमा नेपाललाई फिल्म हब बनाउने कुरामा हामी लाग्नुपर्छ । यसलाई पर्यटनको क्षेत्रसँग जोडेर अघि बढ्न सक्छौँ ।’
राज्यमन्त्री ठकुरीले कला र संस्कृतिको क्षेत्रलाई पर्यटनसँग जोडेर अघि बढ्न जरुरी रहेको बताइन् ।








