थप रहस्यमय बन्दै अडिओ प्रकरण

सांसद ढाकाकुमारले दिए आफूलाई कारबाही गरिए ‘कोर टिम’बारे मुख खोल्ने चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठबारे आज निर्णय गर्ने भएको हो ।

अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिले मंगलबार उनको बयान लिएको थियो । बयानपछि समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । समिति सदस्यसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेकाअनुसार चार पृष्ठको प्रतिवेदन पार्टी सभापतिलाई बुझाइएको हो ।

बयानका क्रममा बयानका क्रममा सांसद श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेको बताइएको छ । ‘प्रतिवेदन बुझाएका छौँ । उहाँ (श्रेष्ठ)ले त होइन मेरो आवाज होइन, यो सबै क्यारिकेचर हो, यसमा विस्तृत अनुसन्धान होस् अनि कारबाही सजाय गरिपाऊँ भन्नुभएको थियो,’ सदस्य न्यौपानेले भने, ‘तर, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको पार्टीको मूल मान्यताअनुसार सुझाव दिएका छौँ ।’

स्रोतकाअनुसार सांसद श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । ‘मलाई फसाउन खोजिएको हो, यस्तो बेला पार्टीले सहानुभूति नराख्ने हो भने कोर टिमबारे सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु,’ उनले चेतावनी दिँदै भनेका थिए । सांसद श्रेष्ठ र व्यवसायी प्रसाईँबीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ ।

रास्वपाले समितिले बुझाएको प्रतिवेदन र थप कदमका विषयमा छलफल गर्न बिहान ९ बजेपछि बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । अडिओ उनको भए/नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =