प्रधानमन्त्रीलाई गुहार्न पोखरेली पर्यटन व्यवसायी काठमाडौंमा, अन्तर्राष्ट्रिय उडान थाल्न आग्रह

पोखरा। अंग्रेजी नयाँ वर्षमा भव्य उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म अन्तराष्ट्रिय उडान हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गरेर छिट्टै अन्तर्राष्ट्रिय जहाज आउजाउ गर्ने आस्वासन दिएका थिए ।

तर अन्तर्राष्ट्रिय उडान नहुँदा करोडौं ऋण काढेर व्यवसायमा लगानी थपेको पोखरेली व्यवसायी मर्कामा परेका छन् । उनीहरुले नयाँ विमानस्थल बनेपनि अन्तर्राष्ट्रिय उडान नहुँदा परेको असरबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीलाई तत्कालै कुटनीतिक पहल थालिदिन उनीहरुको आग्रह छ । पोखरा पर्यटन परिषदको नेतृत्वमा गएको टोलीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर अस्वभाविक बढेका कारण पनि आफुहरुलाई संकट परेको गुनासो गरेका छन् ।

पर्यटन क्षेत्रलाई वित्तीय संकटबाट बचाउन, पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न, पृथ्वीराजमार्ग निर्माण छिटो र व्यवस्थित बनाइदिन गुहार माग्दै मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेका हुन् । कर्जा तिर्ने समयसीमा बढाउँदै पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था गर्न आग्रह गरिएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । यस्तै, बैंक व्याजदर एक अंकमा झार्नुपर्ने र बर्जा तिर्ने समय सीमा बढाइदिनुपर्ने उनीहरुको माग छ ।

बैंक तथा वित्तीय संस्थाले पर्यटनमा अनिवार्य लगानी गर्नुपर्ने साविककै नीतिलाई ब्युँत्याउन पनि व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । ज्ञापनपत्र मार्फत उनीहरुले चैतमसान्तसम्म किस्ता र ब्याज तिर्न नसक्ने बताएका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले व्याजदर एक अंकमा झार्न कसरत गरिरहेको बताए । अहिले ब्याजदर र किस्ताको विषय गम्भीर समस्या बनेकाले सुधारमा निम्ति निरन्तर बैठक बसिरहेको दाहालले बताए । ऋण लिएपछि तिर्दिन भन्न नपाइने तर त्यसका लागि सरकारले सहज वातावरण भने बनाइदिने उनको भनाइ थियो ।

व्यवसायीहरुले पोखराको प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडान असर नगर्ने गरी पूर्ववत रुपमा उडान अनुमति दिनुपर्ने माग गरेका छन् । पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा मन्त्री फेरिएपिच्चे खुला गर्ने भनेर चर्चा कमाउने तर नखोल्ने गरिएकोमा ध्यानाकर्षण गराउँदै अब सधैं खुला गर्ने व्यवस्था मिलाउन व्यवसायीले प्रधानमन्त्री र मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण र पर्यटनमन्त्री सुदन किराँतीले ले अहिले सरकार वित्तीय संकटप्रति गम्भीर रहेको भन्दै छिट्टै सम्बोधन गरिने प्रतिबद्धता जनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति भारत र चीन भ्रमणको प्रमुख एजेण्डा नै रहेको प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =