एमाले परित्याग गरेका नेता खरेल भन्छन्-‘श्रीमतीले के गर्छिन् सल्लाह गरेकाे छैन’

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार नरेश खरेलले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । उनले एमाले पार्टीभित्र स्वेच्छाचारिता बढेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीसहित १० जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पहिले एमाले अध्यक्ष ओलीका विश्वास पात्र रहेका खरेल एमाले विभाजनपछि ओलीसँग मनमुटाबको अवस्थामा रही आएका थिए  । यसअघि राष्ट्रिय सभा सदस्य रहेका उनले पछिल्लो समय एमालेले नयाँ पुस्तालाई स्थान दिएको र पुराना कार्यकर्तालाई अपमान गर्न थालेको बताउँदै पार्टी परित्याग गरेको बताए ।

उनले २०३३ सालमा नख्खु जेल ‘ब्रेक’ गरेका थिए । नेता खरेलसहित नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीम प्रसाद लुइँटेल, साजत आलम, आवलोदिन मियाले पार्टी परित्याको घोषणा गरेका हुन् ।

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर उनीहरुले पार्टी परित्यागेका हुन् । ०२७-०२८ को ऐतिहासिक झापा बिद्रोहका योद्धा रहेका उनीसँगै उनकी श्रीमती पवित्रा निरौला खलेल पनि एमालेको राजनीतिमा थिइन् ।

श्रीमती निरौला २०७४ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । २०७९ सालको निर्वाचनमा भने यो क्षेत्रमा सभामुख देवराज घिमिरेलाई ओलीले टिकट दिएका थिए । त्यसपछि खरेल परिवार एमालेप्रति अझ असन्तुष्ट बनेको थियो ।

पार्टी परित्यागपछि मकालु खबरसँग कुरा गर्दै खरेलले भने, ‘म स्वतन्त्र बस्छु । अहिले कुनै पार्टीमा जाने सोच बनाएको छैन । तर कम्युनिस्ट आन्दोलन बचाउन  कम्युनिस्ट पार्टीहरू एकता गर्ने अभियानमा लाग्छु ।’

पूर्व सांसद पवित्रा निरौला खरेलले पनि पार्टी परित्याग गर्नु भएको हो भन्ने प्रश्नमा भने, ‘उनले के गर्छिन् मैले सोधेको छैन । पवित्रा अहिले अस्ट्रेलियामा छन् । छाड्छिन् कि छाड्दिनन् सल्लाह गरेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =