काठमाडौँ महानगरसँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई गगनको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौँ महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

दुई तहका सरकारका बीचमा तत्काल सल्टाउनुपर्ने विषयहरूलाई सल्टाइहाल्न पनि उनकाे आग्रह छ । उनले महानगरपालिकाले राखेका जायज मागहरूलाई पूरा गर्न आवश्यक विषयहरूमा समझदारी कायम गर्न माग गरे ।

सांसद थापाले काठमाडौँ महानगरपालिका र संघीय सरकारबीचको छलफलमा काठमाडौँका जनप्रतिनिधिहरूलाई पनि सम्मिलिन गराउनुपर्ने बताए ।

उनले भने, ‘बागदरबार र सिंहदरबारबिच टकराब देखिएको छ । काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने भनेको छ । एउटा निर्वाचित जनप्रतिनिधि, स्थानीय सरकारको प्रमुखले आफ्नो असहमति प्रकट गर्दै गर्दा, अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गर्ने शैली, प्रयोग भएको भाषा, लवज यो ठिक वा बेठिक यसका बारेमा बहस हुनसक्ला । बहस गरौला यथोचित समयमा । अहिलेलाई म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कुनै विलम्ब नगरीकन, कुनै आग्रह नगरीकन काठमाडौँ महानगरपालिकासँग छलफल गरियोस् । संवाद गरियोस् । जुन–जुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो समझदारी कायम गरियोस् । जायज मागहरू पूरा गरियोस् । र हामी काठमाडौँका जनप्रतिनिधिहरूलाई पनि यो प्रक्रियामा सम्मिलित गराइयोस् ।’

उनले देशका विभिन्न पालिका प्रमुखहरू सिंहदरबारमा कर्मचारी माग गर्न र सरुवा लगायतका कामहरू लिएर घुइँचो लागेको भन्दै पालिका प्रमुखहरूलाई सिंहदरबार घुम्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =