डा. ढाकाको लहरो: मेडिकल क्षेत्रमा बदमासीदेखि, खानेपानीको रकम हिनामिनासम्म

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बन्दै गर्दा डा. ढाकाकुमार श्रेष्ठबारे गाइँगुइँ चल्यो, ‘यी मान्छे अहिले सांसद भएपनि पनि निलम्बित हुन्छन् ।’ कारण उनको विगत थियो ।

औषधी पसलको अनुमति लिएर मेडिकल सञ्चालन देखि सहकारीको रकम हिनामिनासम्म । गाउँमा खानेपानी आयोजनाका नाममा रकम उठाएर हिनामिना गरेको आरोप उनलाई थियो । मिडियाहरूले त्यसबारे खासै वास्ता गरेनन् । पछि उनकै सहकारीले बचतकर्तालाई रकम फिर्ता नदिएपछि ढाकाको ढकनी खुल्यो ।

समानुपातिक बन्द सूचीमा पर्ने बेलासम्म उनको सामाजिक र सार्वजनिक परिचय थिएन । धेरै कमले मात्रै उनलाई चिनेका हुन् । रास्वपाको गण्डकी प्रदेश सभापति हुनुअघि उनको परिचय मेडिकल क्षेत्रमा मात्रै सीमित थियो । त्यसअघि नै उनले साथी किसान सहकारीको अध्यक्ष भएर रकम हिनामिना गरेका रहेछन् । उनलाई चिन्न अझै अगाडी जानुपर्ने भयो ।

२०७४ साउन १० गते सिडिओ सहितको नेतृत्वमा पृथ्वीचोकको शुभ बिहानी पोलिक्लिनिकमा छापा हान्यो । उक्त पोलिक्लिनिक अवैध थियो र डा. ढाकाले नै चलाएका थिए । औषधी पसलको अनुमति लिएर उनले गैरकानूनी रूपमा १५ शैय्याको अस्पताल चलाएका थिए । उनले असुरक्षित गर्भपतन गराएर रकम असुल्ने गरेको पनि तत्कालीन अनुगमन समितिले पत्ता लगाएको थियो ।

उनी अध्यक्ष रहेको साथी किसान सहकारीले बचतकर्ताको पैसा फिर्ता नदिएपछि अहिले सहकारी नै बन्द छ । अध्यक्षबाट बिदा भएपछि उनले बरबुजारथ गरेनन् । बचतकर्ताको बिचल्ली छ । राजनीतिमा लागेपछि उनले कात्तिकदेखि सहकारीको नेतृत्व छोडेका थिए । सहकारीको रकम उनले नै चलाएको खुलेको छ ।

त्यतिमात्रै होइन, उनले २०७४ मा कास्कीकोटमा खानेपानी विस्तार गर्ने योजना सहित चन्दा रकम संकलनको अभियान चलाए । आफ्नै जन्मथलो भएकोले त्यहाँ खानेपानीको बोरिङ खन्ने योजना उनको थियो । तर उक्त अभियानमा कति रकम जम्मा भयो, कसैलाई थाहा छैन । स्थानीयले रकम खोजी गर्दा उनी सधैँ तर्किने गरेको आरोप छ । श्रेष्ठले ‘हाम्रो परिवर्तन नेपाल’ नामक संस्था खोलेर यस्तो काम गरेका थिए ।

सोही संस्थालाई पार्टीका रूपमा दर्ता गर्ने तयारी गर्दै गर्दा रास्वपा जन्मियो र उनी साउन ७ मा गण्डकीको सभापति बने । अहिले उनी सभापति छैनन् तर रास्वपाबाट पहिलो लिष्टमा समानुपातिक सांसद बने । उनै श्रेष्ठको २ करोड माग गरेको अडियो अहिले सार्वजनिक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *