व्यवसायीहरूले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ : रमेश रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताए ।
शुक्रबार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताए । मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको बताए ।
उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए । उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताए । उनले निर्यात व्यवसायीहरूले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको पनि बताए । उनले नेपालका दुवै छिमेकी देशहरू ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको बताए । उनले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवर्द्धन झनै सहज हुने प्रतिबद्धता जनाए ।
उनले, ‘ट्रेड ब्यालेन्सको यो जुन ग्याप छ, यसलाई पूरा नगरी मुलुक अघि बढ्न सक्दैन । आजको युग भनेको ओपन मार्केटमा गइसकेको युग, तपाईँहरूले आफैँ पनि प्रतिस्पर्धा गर्नुपर्छ । सरकारले सहयोग गर्नुपर्छ, तपाईँहरूलाई सहयोग गर्न सरकार तयार छ, तपाईँहरूले बढी प्रयास गर्नुपर्छ । व्यापार घाटा कम गर्न तपाईँहरूले खेल्नुभएको भूमिका सह्रानीय छ । हामी सीमानाका परिवर्तन गर्न सक्दैनौँ, दुवैतिर ठूला मुलुकहरू छन्, दुवैसँग हामीले सम्हालिएर काम गर्नुपर्ने आवश्यकता छ, दुवैलाई समदृष्टिले हेरेर अघि बढ्नुपर्ने अवस्था छ । निर्यात गर्दा कानुनको अभाव तपाईँहरूलाई छैन, तर निर्यात गर्दा कतै दुःख पनि भइरहेको होला, त्यसलाई पनि सहजीकरण गर्नेछौँ । आउने दिनमा प्रधानमन्त्री छिमेकी दुवै देशको भ्रमण गर्नुहोला, त्यसमा सहजीकरण पक्कै हुनेछ तपाईँहरूका लागि । यस पटक हाम्रो उद्योग मन्त्रालयमा सबैभन्दा कमजोर खर्च छ, खर्च गर्न सकिएको छैन ।’
मन्त्री रिजालले व्यवसायीहरूको भूमिका आर्थिक स्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरूलाई हरेक सुविधा दिन सरकार तयार रहेको बताए । उनले सरकार निर्यात प्रवर्द्धनका लागि सहयोग गर्न तयार रहेको बताए ।








