व्यक्तिगत चाहना त्यागेर देशको आवश्यकताअनुसार काम गर्न जरुरी : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा लायन्स क्लवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक रहेको बताए ।
उनले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लवले गरेका कामहरूबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताए । सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताए ।
उनले भने, ‘अहिले हामी राजनीतिक ठूलो परिवर्तन गरेर समाजलाई आर्थिक र सामाजिक विकास गरेर महत्वपूर्ण घडीमा आइरहेका छौँ । अनेकौँ चुनौतीहरूको सामना गरिरहेका छौँ । यतिबेला हाम्रो समजाले हाम्रो प्रणालीलाई र प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरुलाई कुर्सीको लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको छ । लायन्स क्लवले गरिरहेका काम र प्रणालीहरू पदको लागि कुनै कोसिस गर्नु नपर्ने, आम सदस्य प्राप्त गर्दैगर्दा पनि सदस्यको लागि आफ्नो चाहना र इच्छा भन्दापनि संस्थाको आवश्यकता र मूल्याङ्कनको आधारमा सदस्यता प्रदान गर्ने कुरा देखिरहेका छौँ ।’








