नेकपा क्रान्तिकारी माओवादी र बहुमतबीच पार्टी एकता हुने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ ।

शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नेकपा(मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेकोले निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ ।

पार्टी एकताको आधारहरु माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभुत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भुमिका, जनवादी केन्द्रियताको संगठन सञ्चालन पद्धती, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरु रहेको नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले जानकारी दिए ।  पार्टी एकतासँगै नयाँ क्रान्तिको शुरुवात गर्ने बताए ।

उनले भने, ‘आजको दिन धेरै खुशीको दिन हो । हामीले धेरै लामो समयदेखि प्रयत्न गर्दै आएका थियौँ । आज हामी सफल भएका छौँ । यद्यपी यो समग्र पार्टी एकता भने होइन । तर यो पार्टी एकताको निम्ति एउटा महान ऐतिहासिक अभियान हो । त्यसकारणले हामीलाई धेरै खुशी लागेको छ । म सबैभन्दा पहिले त दुई पार्टीको तर्फबाट संयुक्त वक्तव्य वाचन गरेर सुनाइयो । त्यो संयुक्त वक्तव्य अनुसार अगाडी बढ्ने कुरामा हाम्रो पार्टीको तर्फबाट दृढ प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । दोस्रो कुरा हामीले जुन पार्टी एकता गरेका छौँ । यो पार्टी एकताको प्रक्रियामा पार्टी एकताका हाम्रा आधारहरु छन्, अभिव्यक्तिहरु छन् माक्र्सवाद, लेनिनवाद, माओवाद । नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद हाम्रो राजनीतिक कार्यदिशा । क्रान्तिमा बल प्रयोगको भुमिका अनि वर्तमान राज्यसत्ता र व्यवस्थाको बिरोध । सर्वहारा अन्तर्राष्ट्रियवाद । महान जनवाद सांस्कृतिक क्रान्ति प्रतिको प्रतिवद्धता । र जनवादी केन्द्रियताको आधारमा संगठन सञ्चालन भनेर संक्षिप्तमा बुँदागत रुपमा जुन विषयहरु प्रश्तुत गरिएका छन् । हामी त्यसकै अनुसार अगाडी बढ्नेछौँ । हामी नयाँ एकिकृत दस्तावेजहरु यसकै आधारमा तयार पार्नेछौँ । यो एकता वर्तमान राज्यसत्ता र व्यवस्थाको बिरोध र विकल्पमा नयाँ राज्यसत्ताको स्थापना र सामाजिक क्रान्ति । राज्यमा चलिरहेका आधारभुत र ज्वलन्त समस्याहरुको समाधान र अहिलेको दलाल तथा नोकरशाही पुँजिवाद । सामन्तवादका अवशेषहरु । साम्राज्यवाद र बिस्तारवादका उत्पीडनहरु र नेपाली कम्युनिष्ट आन्दोलनमा वर्चस्व जमाउँदै आएको दक्षिणपन्थी सर्मपणवादका बिरुद्ध दृढतापूर्वक संघर्ष गर्दै क्रान्तिको झण्डालाई उचो बनाउनेछौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिष्ट र वामपन्थीहरु संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताउनु भयो । उहाँले सबै कम्युनिष्टहरुलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गर्नुभयो । उहाँले अब क्रान्तिकारी कम्युनिष्टहरु देशको मुल प्रवाह बन्ने बताए ।

उनले भने, ‘अब कोहीपनि क्रान्तिकारी कम्युनिष्टहरु वामपन्थीहरु बाहिर नबसौँ । सबै संगठित भएर एउटा विशाल शक्ति बनाऔँ । अब ऐतिहासिक तेस्रो जनआन्दोलन नेपालमा घोषणा गरौँ । त्यसलाई सफल पारेर नै हामी नयाँ नेपाल बनाउन सक्छौँ । त्यसकारण म हाम्रो पार्टीको तर्फबाट, संयोजन समितिको तर्फबाट म के आह्वान गर्न चाहन्छु भने सबै जना अब यो एकता प्रक्रियामा सामेल हौँ । अब मुल प्रवाह दक्षिणपन्थी अवसरवादी, कम्युनिष्टहरु हुने छैनन् । अब क्रान्तिकारी कम्युनिष्टहरु नै देशको मुल प्रवाह बन्नेछन् । यो विश्वासका साथ हामी अगाडी बढौँ ।’

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरु एकतावद्ध हन लागेको बताए ।

उनले भने, ‘यो एकताले नेपालको क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गर्न र नेपालमा जुन संसदीय व्यवस्था जसको कारणले अहिले देश आक्रान्त बनेको छ । नेपाली जनता प्रताडित छन् । र देशले वैकल्पिक राजनीतिक प्रणालीको माग गरेको छ । राजनीतिक व्यवस्थाको माग गरेको छ । त्यो व्यवस्था भनेको निश्चित रुपमा नयाँ जनवाद, वैज्ञानिक समाजवाद बाहेक अर्को हुन सक्दैन त्यो व्यवस्था स्थापना गर्नको निम्ति यसले सिंगो नेपाली जनताहरुलाई, क्रान्तिकारीहरुलाई एकतावद्ध गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

पार्टी एकताको घोषणा भने आगामी अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने जानकारी गराइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =