घरमा छरिएका रकमहरू पुँजीको रूपमा जम्मा गर्न सके वर्तमान अर्थतन्त्रको समस्या सम्बोधन हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरु पुँजीको रूपमा जम्मा गर्न सके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले घरघरमा छरिएका साना साना रकमहरू पुँजीको रूपमा जम्मा गर्न सके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए । उनले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्न सके राज्यकोको वृद्धि हुने बताए।
उनले छरिएर रहेको रकमलाई पुँजीको रूपमा जम्मा गर्दा लगानीमा उपयोग हुनसक्ने र लगानीको निम्ति पैसाको अभाव नहुने स्थिति बन्ने बताए ।
अध्यक्ष नेपालले भने, ‘सहकारीको बेग्लै महत्त्व हुने गर्छ । कसैले सहकारीलाई निजी भित्र राखेर दुई वटाको चर्चा मात्रै गरे हुन्छ भन्ने गर्छन् । होइन, यसलाई महत्त्व दिने हो भने यसलाई तीन वटा क्षेत्रको रूपमा तीन वटा खम्बाको रूपमा, यसलाई तीन खम्बे अर्थतन्त्र पनि भन्छन् । तीन खम्बे अर्थतन्त्र अहिलेको नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको मान्यता लाईअघि सारेको छ । यो तीन खम्बा भित्र निजी, सहकारी, राजकीय क्षेत्र पर्छ । यी तीनको अनुपात के हुनुपर्छ भन्नेकुरा पनि वहसको विषय छ । निजी क्षेत्रले कति अनुपात ओगट्ने, सहकारीले कति र सरकारी क्षेत्रले कति भन्ने छलफल र बहस हुनुपर्छ । हामी चाहन्छौँ घरघरमा छरिएका साना साना रकमहरू पुँजीको रूपमा जम्मा हुन पाए हुन्थ्यो । हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरू उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्न सके राज्यको समग्र रकम पनि राज्यसँग रहेको कोषमा पनि वृद्धि हुनसक्थ्यो । लगानीमा उपयोग हुनसक्ने थियो । लगानीको निम्ति पैसाको अभाव हुने थिएन । किनभने थोपा थोपाले नै विशाल समुन्द बन्छ । थोपा थोपा रकम जम्मा गर्ने हो भने, मानिसहरूसँग छरिएर रहेका रकम जम्मा गर्ने हो भने त्यसको आकार ठूलो हुन्छ । यस बिचमा आवश्यकता पर्दा ऋण लिन जाँदा विभिन्न क्षेत्रले ऋण लिएका मान्छेहरू समस्यामा परेको सुनिन्छ । मिटरब्याजीको समस्या पनि सुनेका छौँ । रकम लिएको भन्दा दोब्बर रुपका कागजमा हस्ताक्षर गर्छन् । जग्गा जमिन पहिल्यै धितो राखेर लिएको पाइन्छ । मिटर व्याजको नाममा भएको अत्याचारको विरुद्धमा सरकारले कदम चालिसकेको छ ।’
माधवकुमार नेपाल, अध्यक्ष, नेकपा ९एकीकृत समाजवादी अध्यक्ष नेपालले मिटर ब्याज पीडितहरूलाई न्याय दिन सरकार अघि बढिसकेको उल्लेख गरे ।








