सांसदहरूले त्याग्लान् त तलबभत्ता र सरकारी गाडी ? 

सर्वसाधारण जनता संघीय तथा प्रदेश सरकारका सांसदलाई सोध्छन्, ‘तपाईँहरू ऐनकानून बनाएर देशको विकास गर्न आउनुभएको हो कि देश नै अन्य मुलुकमा धितो राखी तलबभत्ता, सरकारी गाडी र कमिसन खान ?’ यदि जनता र राष्ट्रको माया छ भने जुनसुकै पार्टीको भएपनि मुलुकको आर्थिक अवस्थाका कारण तलबभत्ता, सरकारी गाडी चाहिँदैन भनेर सदनमा उभिएर भन्न सक्ने आँट कुनै सांसदको छ ?

तर, अहिलेका सांसदहरूलाई देश र जनताको मायाभन्दा पनि तलबभत्ता, सरकारी गाडी र कमिसनको माया छ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेवासुविधा कटौती गर्नुपर्छ ।’ तर, थापाले सदनमा उभिएर म जनताले तिरेको करबाट तलबभत्ता, सरकारी गाडी र सेवासुविधा लिँदिनँ भनेर किन भनेनन् ।

थापा बोल्ने मात्र हो, उनीसँग काम गर्ने क्षमता छैन भनेर अहिले स्पष्ट भइसकेको छ । अहिलेको सरकारमा कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री बन्नुस् भन्दा पनि उनी मानेनन् । यदि उनीसँग काम गर्ने क्षमता भएको भए उनले अर्थ मन्त्रालय सम्हालेर देशको आर्थिक अवस्थामा सुधार ल्याउन सक्थे नित ।

थापाको राजनीतिक पृष्ठभूमि केलाउने हो भने उनी गुण्डा हुन् । धेरै सर्वसाधारण जनताले एनसीसी पारित गर्नुहुँदैन भनेर विरोध गरेका थिए तर थापाले सदनमै उभिएर एनसीसी पारित गर्नुपर्छ भनेका थिए । जसले गर्दा अहिले उनलाई अमेरिकाले पालेको जासुस पनि भनिन्छ ।

पहिला स्वास्थ्यमन्त्री हुँदा पनि थापाले एउटा सिन्को भाँचेनन् अनि अहिले आर्थिक अवस्था जर्जर हुँदा समेत उनी अर्थमन्त्री हुन मानेनन् । सांसद चित्रबहादुर केसीले केही दिनअघि एउटा पत्रिकामा अन्तरवार्ता दिँदै भनेका थिए, ‘गत मंसिर ४ गतेको चुनावमा मेरो २३ देखि २५ लाख खर्च भएको छ, त्यहीँ ऋण तिर्न पनि म तलबभत्ता लिन्छु ।’ केसीलाई त देशैभरका जनताले राम्रो मान्थे ।

तर, उनी पनि आफ्नै क्षेत्रमा पैसा खर्च गरेर चुनाव जितेर आएका रहेछन् । अब भन्नुस् यदि केसी राम्रो नेता भएको भए उनलाई आफ्नै क्षेत्रमा पैसा खर्च गर्नुपर्थ्यो ? अहिले सुनिन्छ, केसीले सांसदबाट पाउनुपर्ने तलबभत्ता, सरकारी गाडी र सेवा सुविधासहित ज्येष्ठनागरिकले पाउने भत्ता समेत लिइरहेका छन् ।

अब सदनमा उभिएर आफूलाई तलबभत्ता, सरकारी गाडी र सेवासुविधा चाहिँदैन भनेर न बुढो भएका सांसद चित्रबहादुर केसी नै भन्छन् न राष्ट्रिय स्वतन्त्र पार्टीबाट आएकी सबैभन्दा कान्छी सांसद निशा डाँगी नै भन्छिन् ।

अहिले बजारमा सांसद तथा सरकारी कर्मचारीले देश नै अन्य मुलुकमा धितो राखी तलबभत्ता, सरकारी गाडी र सेवासुविधा लिएको सुनिन्छ । यिनीहरू देश जोगाउन नभई देश नै बेचेर तलबभत्ता खान गएको भनेर सर्वसाधारण भन्छन् । यता विदेशी मुलुकले नेपाललाई न अनुदान नै दिन्छ न बिनाधितो ऋण दिन्छ ।

अहिले नेपालको अर्थतन्त्र टाट पल्टिसक्यो र नेपाल विदेशी ऋणमा डुबिसक्यो भनेर विदेशी मुलुकले थाहा पाइसकेका छन् । प्रत्येक नेपालीको टाउकोमा नेपाल सरकारले विदेशीसँग लिएको ऋण ८५ हजार पुगेको छ । यसरी विदेशीसँग लिएको ऋणको साँवाब्याज तिर्न नसकेपछि नेपाल कालोसूचीमा पर्न थालिसक्यो ।

उता सरकारी कर्मचारी, भूपूसरकारी कर्मचारी, ज्येष्ठनागरिकहरुले पनि अब देश बेच्न पाइँदैन बरु हामीलाई तलबभत्ता चाहिँदैन भनेर सडकमा आन्दोलन गरेको देखिँदैन । विदेशी मुलुकले सयौँ वर्षअघि हस्तक्षेप गर्न खोजेको हाम्रो नेपाललाई हाम्रो पुर्खाले आफ्नो ज्यान फ्यालेर जोगाए ।

तर, अहिले सरकारी कर्मचारी, सांसद आदिले आफ्नो तलबभत्ता, सरकारी गाडी र सेवासुविधाका लागि विदेशीसँग ऋण लिएर देश नै बेच्न खोजे । अहिले भूपूराष्ट्रपति, भूपूसभामुख, भूपूप्रधानमन्त्री आदि आफूले पाउनुपर्ने तलब, सेवासुविधा त्याग्दैनन् । उता उद्योगी व्यवसायीहरू राज्यलाई कर तिर्दैनन् ।

पछिल्लो समय राज्यको ढुकुटी रित्तिँदैन गएको छ । अब जनताले तिरेको करबाट सरकारी खर्च त धौधौ परेको छ भने विकास र विदेशीसँग लिएको ऋणको साँवाब्याज चुक्ताको त कुरा छोडौँ । अब देश बचाउनेतर्फ लाग्ने हो भने वडाध्यक्षदेखि भूपूसरकारी कर्मचारी समेतले तलबभत्ता, सरकारी गाडी, सेवासुविधा र पेन्सन त्याग गर्नुपर्छ ।

तर, देश नै विदेशी मुलुकमा धितो राखी ऋण लिएर तलबभत्ता, सरकारी गाडी, सेवासुविधा र पेन्सन लिने हो भने अब सर्वसाधारण जनता सडकमा उत्रिन्छन् । अनि यिनीहरू नै देश छोडेर भाग्नुपर्ने अवस्थामा निम्तिने छ । श्रीलंकामा आर्थिक मन्दी भएर त्यहाँका जनता सडकमा उत्रिएपछि त्यहाँका राष्ट्रपति देश नै छोडेर भाग्नुपर्‍यो ।

तर, अब नेपालमा पनि त्यहीँ लक्षण देखा परिसकेको छ । अहिले खाद्य पदार्थमा ह्वात्तै महँगी बढेको छ, बजारमा पाँच सय र हजारको नोट हाहाकार छ । सहकारीहरू डुबेर सबै भागिसकेका छन् त बैंकहरु टाट पल्टिसकेका छन् । अहिले सर्वसाधारण जनताले आफूसँग भएको रकम बैंक तथा वित्तीय संस्थामा राख्न छोडिसकेका छन् ।

उल्टै भएको रकमपनि निकाल्न लाइन लागेर बसेका छन् । यता बजारमा घरजग्गा, गाडी र सेयरको कारोबारमा पुरै मन्दी आएको छ । यी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरू ऋण तिर्न नसकेर भागाभाग गरिरहेका छन् । झन् कतिपयले त आत्महत्याको बाटो समेत रोजेका छन् । ३२ सय कित्तामा बिक्री भएको सेयर १५ सय, ३० लाखमा बिक्री भएको जग्गा अहिले बिक्री नै हुँदैन ।

गाडीमा पनि यस्तै छ । १५ लाखमा किनेको गाडी अहिले दुई लाखमा बेच्छुभन्दा समेत बिक्दैन । त्यसैले, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर यी क्षेत्रमा लगानी गरेकाको अहिले ऋण तिर्न नसकेर रुवाबासी छ । एकातिर हिजो नाफा हुन्छ भनेर ऋण लिएर यी क्षेत्रमा लगानी गरियो त अर्कोतिर यिनीहरूको मूल्य घटेपछि अहिले आफूसँग भएको रकम पनि डुब्यो ।

भएको सम्पत्ति सबै बैंक तथा वित्तीय संस्थाले लिलाम गरेपछि यिनीहरू अहिले सुकुम्वासीको अवस्थामा पुगे । राज्यको सबैभन्दा बढी राजस्व संकलन हुने मालपोत, यातायात र भन्सार कार्यालयबाट अहिले राजस्व उठ्न छोडिसकेको छ । यसैगरी, अब देश कतातिर मोडिन्छ भनेर राजस्वलाई राजस्व तिर्न छोडिसकेका छन् ।

यस्तो अवस्था निम्तिदा पनि जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरू देश र जनताको हितमा काम गर्नुभन्दा पनि तलबभत्ता, सरकारी गाडी र सेवासुविधामा अलमलिएर बसेका छन् । सरकारी कर्मचारीहरू झनै देशको आर्थिक अवस्था नाजुक हुँदै जाँदा पनि जनताको काम छिटोछरितो गर्दैनन् ।

भक्तपुर १ बाट २०४८ सालदेखि २०७० सालसम्म नारायणमान बिजुक्छेले चुनाव जित्दै आए । कति पार्टीका नेताहरूले उनलाई मन्त्री बन्नुस् भनेर उनकै घरमा आएर भन्दा पनि उनी मानेनन् । उनले कहिल्यै पनि पदको लोभ गरेनन् त भ्रष्टाचार जस्ता गतिविधिमा लागेनन् । त्यसैले, अहिलेपनि उनलाई सर्वसाधारण जनता राम्रो नेता मान्छन् ।

२०७४ सालको चुनावमा बिजुक्छेले आफू निर्वाचनमा नउठी भक्तपुर क्षेत्र. १ बाट प्रेम सुवालमा निर्वाचनमा उठाए । यसरी नारायणमान बिजुक्छेको काम देखेर पनि प्रेम सुवाललाई भक्तपुरवासीले निर्वाचनमा जिताए । त्यस्तै, गत मंसिर ४ गतेको निर्वाचन पनि यहाँका बासिन्दाले प्रेम सुवाललाई निर्वाचित गराए ।

अहिले देशको आर्थिक अवस्था नाजुक हुँदै गएको छ, राजनीतिक दलहरूले नेपाल नै विदेशीलाई जिम्मा लगाउन खोजिरहेका छन् तर यस्तो अवस्थामा पनि सुवाल सदनमा उभिएर म तलबभत्ता, सरकारी गाडी र कुनै सेवासुविधा लिँदिन भनेर भन्दैनन् । यसबाट त सुवाललाई पनि देश र जनताको माया नभई तलबभत्ता, सरकारी गाडी र सेवासुविधाको माया भएको स्पष्ट हुन्छ ।

अहिले कुनै दलको सांसद के बोलिरहेका छन् र के गरिरहेका छन् भनेर जनता हेरिरहेका छन् । अब यसको मूल्यांकन जनता अर्को निर्वाचनमा गर्ने छन् । बुढोपाकाले भन्थे, ‘परेको बेला हिरा पनि फुटाउनु, नपरेको बेला पीडा पनि नफुटाउनु ।’ अनि यस्तो अवस्थामा पनि सांसद, सरकारी कर्मचारीहरूले तलबभत्ता लिने हो त ?

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हिजो अभियन्ताको नाममा अरूलाई ठगेर अर्बौँ रुपैयाँ कमाए तर त्यो रकम अख्तियार र शुद्धीकरण विभागले छानबिन गरी समात्छ भनेर करोडौँ रकम खर्च गरेर जुम्लाबाट चुनाव जितेर आए । १५ वर्षअघिसम्म ज्ञानेन्द्र शाही डोकामा भाडा बेचेर हिँड्थे र सय रुपैयाँको भाडालाई तीन सयमा बेच्थे ।

तर, भाडा बेच्न छोडेर अभियन्तामा लागेपछि उनले आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति कमाउनुका साथै सांसद पनि पल्काए । यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रियताको कुरा गर्छन् । तर, देश विदेशी ऋणमा डुब्दा पनि तलबभत्ता छोड्दैनन् । यदि अब जनताबाट चुनिएर आएका कुनै सांसदलाई साँच्चिकै देश र जनताको माया छ भने उनीहरूले सदनमा उभिएर आफूलाई तलबभत्ता, सरकारी गाडी र सेवासुविधा चाहिँदैन भनेर भन्छन् ।

जनता अहिले भन्छन्, यिनीहरू हाम्रो लागि पदमा नभई भ्रष्टाचार गर्न गएका हुन् । त्यसैले, अहिलेका सांसदहरूले जनताको यो सोचाइमा परिवर्तन ल्याउन नसकेमा यिनीहरू देश र जनता दुवैबाट नङ्गिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =