जनादेश अनुसार बनेको याे सत्ता गठबन्धन पाँच वर्षसम्मै कायम रहन्छ : माधव नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गरेका छन् ।

वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ रु भन्ने आशंका कसै कसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् । बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौँमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे ।

उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए । उनले भने, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयु छैन । कसै कसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन् ।

त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर तपाईँहरू ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ । त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौँ । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढ्ने प्रतिबद्धता गरेका छौँ ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =