अञ्जन श्रेष्ठको वाचा, जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउँछु (भिडिओ)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठ तथा उनको टिमले बुधबार औपचारिक रुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले हात्तिसारमा आयोजित घोषणासभामार्फत आफ्नो टिमका साथमा वाचापत्र सार्वजनिक गरेको हो । वाचापत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेरसँगै अगाडि बढ्नुपर्ने बताए ।
महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे । आफ्नो टिमले सहभावका र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे ।
अञ्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए । समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरूले समेत आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेको हो ।








