दोस्रोपटक सानदार जितको पर्खाइमा रवि !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावी पुस्ताको भविष्य सुरक्षित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । सोमबार मनोनय दर्तापछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
राजनीतिमा शुद्धता ल्याउन र नेपालमै रोजगारी सिर्जना गर्न पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । लामिछानेले आफू यसपटक पनि चुनाव जित्नेमा पूर्ण विश्वस्त रहेको बताए । चर्चित मानिएको निर्वाचन क्षेत्र चितवन–२ मा रविले नै जित्ने सम्भावना देखिन्छ । मंसिरको निर्वाचनमा झण्डै ३५ हजार मतान्तरले कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गरेका रविले योपटक कांग्रेस चिवतनका पूर्वसभापति जितनारायण श्रेष्ठले चुनौतीको समाना गर्दैछन् ।
गत मंसिरमा भएको निर्वाचन परिणाम हेर्दा रास्वपा अत्याधिक मतले अगाडि रहेको छ । चितवन–२ मा रविले ४९ हजार ३०० मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाए । एमालेका पोखरेलले १४ हजार ६५२ मत पाए ।
समानुपातिकतर्फ रास्वपाको ३५ हजार ९४५, एमालेको १६ हजार ७८४, कांग्रेसको १२ हजार १३२, माओवादीको ८ हजार ४०७ र राप्रपाको ३ हजार २१८ मत रहेको छ । एसको ६१६, मंगोल नेसनल अर्गनाइजेसनको ४५६, सुशासन पार्टीको ३३०, मालेको २२०, जपाको १५५, हानेपाको १२६, नाउपाको १२४ र जनमोर्चाको १२२ रहेको छ ।
यसरी तथ्याङक हेर्दा सत्तापक्षले जम्मा २१ हजार ५५६, रास्वपा एक्लैले ३५ हजार ९४५ मत पाएको छ । एमाले १६ हजार ७८४, राप्रपाले ३ हजार २१८ र अन्यले १ हजार १३२ मत पाएको छ ।








