पशुपतिको फोहोर देखेर म आफैँ लज्जित छु : सुदन किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् ।
शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताए ।
मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको भन्दै त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाईलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको पनि बताए ।
मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाइ भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको बताए । उनले सो क्षेत्रमा बिहान मोर्निङ वाकमा आउनेहरूले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाइका लागि सबै सुध्रनुपर्ने अवस्था रहेको बताए ।
मन्त्री किरातीले भने, ‘पशुपतिनाथ सरसफाइ पनि पर्यटक बढाउनका लागि हो । आज म धेरै नै फोहोरमा पसेको छु । साथीहरूले डाँडाडाँडा सफा गरेर हिँड्थ्यो । प्लास्टिक मात्रै भेटिन्थ्यो । आज चाहिँ धेरै नै फोहोर देखेर म आफैँ पनि साह्रै लज्जित भएर फर्केको छु । हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भइसकेपछि गाडीबाट तल नझर्ने । कर्मचारी सीमित जागिर मात्रै खाने हो भन्ने ठान्ने । विकास कोषका साथीहरू कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त । त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर अव संस्कृति जनतामा कस्तो भने कुकुर डोहो¥आउँदै जाने, मोर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लाष्टिकमा फोहोर फ्याँकेर हिँड्ने । हामी सबै सुध्रिनुपर्ने देखिन्छ । पर्यटनको पहिलो आधार भनेकै सरसफाइ हो । जहाँ हामी सफाइ नै गर्दैनौँ । धेरै मानिसहरूले आज मलाई ट्वाइलेट कता भनेर सोध्यो पशुपतिनाथमा । म आफैँ ट्वाइलेट खोजी हिँड्दै थिए । कति गाह्रो छ । हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोसिस गर्दैछौं । त्यसमा यो पनि एउटा आधार भएको छ ।’
मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको समेत बताए ।








