डा चन्द्र भण्डारीसँग भेटघाट निषेध, कस्तो छ पछिल्लो स्वास्थ्य ?


काठमाडौँ । भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । भण्डारी काठमाडौँको बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएका थिए ।
गम्भीर घाइते उनको नेपालमा उपचार सम्भव नभएपछि मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएको हो । अहिले डा भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । ‘डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ,’ उनले भने, सामान्य आहार दिन सुरु गरिएको छ ।’
उनी अरूको सहयोगबिना बस्न र हिँड्न थालेका छन् । अबको १ महिनाभित्रै भण्डारीलाई डिस्चार्ज गर्ने तयारी छ । सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ ।
