मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् । भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्नु नहुने बताएका हुन् ।

उनले मिटरब्याजी पीडितहरुलाई  प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्ब भेट गर्न आग्रह गरे । पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया शुरु हुनु रहेको उनको भनाई थियो ।

महामन्त्री शर्माले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाहरूको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसद्मा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । मिटरब्याजी पीडितहरू कुनैपनि राजनीतिक दलको छत्रछायामा रहेको भएपनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको उनले बताए । वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभई बोलेका कुरा राज्यले कति सम्बोधन ग-यो भन्नेकुरा मुख्य रहेको शर्माले उल्लेख गरे ।

महामन्त्री शर्माले भने, ‘मिटरब्याजीसँग सरकारले दुई तीन वटा कुरा क्रमशः गर्नुपर्छ । मिटरब्याजीहरुले जो कोही गएर संवाद गर्दापनि उहाँहरूले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौँ भन्नुभएको छ । प्रधानमन्त्रीज्यूलाई म के आग्रह गर्छु भने मिटरब्याजीहरुको संघर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई हिजो घरमा पुगेर दुई हात जोडेर मत माग्न सक्थ्यौँ, आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन । प्रधानमन्त्रीले अविलम्ब भेट दिनुपर्छ । त्यसले उहाँको आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ हुन्छ । दोस्रो उहाँहरूले उठाएको मुद्दाको सम्बोधन गर्न आवश्यक कानून बनाउने, संसदबाट प्रक्रिया अघि बढाउने, तेस्रो कुरा मिटरब्याजीहरु जुनसुकै राजनीतिक दलको छत्रछायामा हुन्, काँग्रेस, एमाले, माओवादी वा अरू दलका उनीहरूलाई कुनैपनि झमेलामा नराखी काम गर्नुपर्छ । प्रधानमन्त्रीले अविलम्ब भेट्नुपर्छ । हामी उहाँहरूको आन्दोलनको समर्थन गर्न र संसद्मा लैजान तयार छौँ । लोकतन्त्र कति धेरैले बोल्न पाए होइन, उनीहरूले बोलेका कुरा कति सरकारले सम्बोधन गरेको छ त्यो अहिलेको लोकतन्त्र हो । उहाँहरूको मुद्दालाई हल गर्नु यो बेलामा राजनीतिक दल, राज्य सबैको कर्तव्य हो ।’

महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरूको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *