नेकपा एसको तीन मन्त्रालयमा दाबी कायमै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज बसेकाे केन्द्रीय सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायमै राखेको बताए । सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको उनले बताए ।

‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ,’ खतिवडाले भने, ‘हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौँ । सीटको बाँडफाँट ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौँ । मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौँ । कार्यदलले आफ्नो रिपोर्ट पेस गर्ने काम जारी छ । हामीले तीन मन्त्रालयको दाबी गरेका छौँ ।’

प्रधानमन्त्रीसँगको भेटमा पनि पार्टी अध्यक्ष माधवकुमार नेपालले तीन मन्त्रालय चाहिने अडान राखेको खतिवडाले बताए ।

बैठकमा अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएका कुराकानीबारे अध्यक्ष नेपालले ब्रिफिङ गरेका थिए । बैठकमा उपप्रधानमन्त्रीसहित कम्तीमा ३ मन्त्रालयमा दाबी गर्नेबारे छलफल भएको थियो । तर,  दश दलीय गठबन्धनमा भाग लाग्दा एसलाई २ मन्त्रालय र एक राज्यमन्त्री पर्ने सम्भावना छ ।

बैठकले मिटर ब्याजीविरुद्ध भइरहेकाे आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ। मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि एकीकृत समाजवादीको माग छ । यस्तै बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्यायी कमिटीका सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा सचिवालयको बैठकले स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *